चितवनः गत शनिबार कार्यपालिका सदस्य र कर्मचारीको टोली सहित निकुञ्ज घुम्न पुग्नु भएकी खैरहनी नगरपालिका उपप्रमुख कबिता उप्रेतीले ३५ वटा हाराहारी एक सिंगे गैंडा देख्नुभयो । एउटै घाँसे मैदानमा ८ वटा गैंडा मात्र देख्नु भएन ढुक्कसंग बाघ हेर्ने अबसर समेत पाउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायीक वनमा घुम्न आउनेहरु यतिवेला दुर्लभ वन्यजन्तु एक सिंगे गैंडा, बाघ, भालु जस्ता जनावर हेर्न पाउँदा फुरुङ्ग हुने गरेका छन् । खैरहनी नगरपालिकाका १९ जना कार्यपालिका सदस्य र १२ जना कर्मचारीले एकै साथ ठूलो संख्यामा गैंडा र बाघ हेर्ने अबसर पाएको उप्रेती वताउनुहुन्छ । उहाँले भन्नुभयो “हामीले कसराबाट टाईगरटप्स जाँदै गर्दा एउटै घाँसे मैदानमा आठ वटा गैंडा देख्यौ । फर्कदा बाघ र भालु पनि देख्यौ ।” घोरल, सिंहकोब्रा जस्ता वन्यजन्तु देखेको उहाँ बताउनुहुन्छ ।
निकुञ्ज भित्र पर्यटक बोक्ने जीप चलाउँदै आउनुभएका सोम तामाङ् गत एक महिना यता दैनिक एउटा न एउटा जीपमा गएका पर्यटकले बाघ हेर्ने अबसर पाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “टाइगरटप्स पुगेर फर्कदाँ तीस भन्दा बढी गैंडा देख्न सकिन्छ ।” सौराहाबाट मात्र निकुञ्ज भित्र ३२ वटा जीप चल्दछन् । यस संगै कसरा, मेघौली, माडी र नवलपरासी तर्फबाट होटलहरुका जीप निकुञ्ज छिर्ने गर्दछन् । दिउँसो १२÷१ वजेको समयमा गर्मीका कारण गैंडा आहाल खेल्न पोखरीमा पस्ने हुँदा कम देखिने भए पनि अन्य समयमा निकुञ्जका बिभिन्न ठाउँमा सजिलै गैंडा देख्न सकिने उहाँ बताउनुहुन्छ ।
सामुदायीक वनमा समेत सहजै गैंडा देखिन थालेको छ । सौराहाका नीजि हात्तीहरु व्यवस्थापन गर्दै आएको युनाईटेड हात्ती संञ्चालन सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडा यो दुर्लभ वन्यजन्तु हेर्ने उपयुक्त समय भएको बताउनुहुन्छ । मध्यवर्ती सामुदायीक वनमा हात्ती चढेर जाने पर्यटकले सहजै गैंडा देख्ने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “अरु वेला बाघ हेर्न महिनौ कुर्नुपर्ने भए पनि अहिले बढीमा एक हप्तामा पर्यटकले सहजै बाघ देख्ने गरेका छन् ।”
चितवन राष्ट्रिय निकुञ्जका पूर्बी सेक्टर सौराहा हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत सान्त वहादुर मगर गर्मीको समयमा गैंडा पानीका पोखरी र सिमसार क्षेत्रहरुमा आउने हुँदा सजिलै देख्न सकिने बताउनुहुन्छ । घाँसेमैदान व्यवस्थापन गरेका कारण बाघ लगाएतका वन्यजन्तु समेत सहजै देखिने गरेको उहाँको भनाई छ । अन्य कतिपय समयमा दिनभर निकुञ्ज घुमेर एक सिंगे गैंडा हेर्न नपाएर पर्यटक फर्कनु पर्ने भए पनि अहिले सहजै वन्यजन्तु हेर्न पाए पछि निकुञ्ज र सामुदायीक वनमा जीप र हात्ती सफारी एबं डुङ्गा सयर गर्नेहरु वढेको व्यवसायीहरु वताउँछन् । यो निकुञ्ज नेपालमा पर्यटकहरुका लागि सफारीको प्रमुख गन्तव्य हो । यहाँ दुर्लभ वन्यजन्तु बाघ, गैंडा जस्ता जनावर हेर्न तेस्रो मुलक, सार्क र नेपाली पर्यटकहरु आउने गर्दछन् ।






