चितवनः तपाईको घरमा ह्वीलचियर थन्कीएर वसेको छ ? ह्वीलचियर किन्न नसकेर धेरैको दैनिकी थप कष्टकर बनिरहेको छ । तपाईको थन्किएको ह्वीलचियर पाए ती विपन्नहरुको दैनिकी सहज वन्ने छ ।
ह्वीलचियरको अभावमा कष्टकर जीवन बिताईरहेकाहरुका लागि ती नै थन्कीएका ह्वीलचियर जुटाएर दैनिकी सहज वनाउने अभियानमा फ्रि ह्वीलचियर डोनेट एण्ड रिपियर सोसाईटी नेपाल नामक अभियान लागेको छ । अभियानका अबधारणा कर्ता आनन्द राउत घर तथा कार्यालयमा प्रयोग बिहिन रहेका ह्वीलचियर संकलन गरेर आबश्यक पर्दा मर्मत समेत गरी बिपन्न सम्म पु¥याउने काममा लागेको बताउनुहुन्छ । नेपालमा ह्वीलचियर बिदेशबाट आयात गर्ने गरिन्छ । बर्षेनी करोडौंको ह्वीलचियर बिदेशबाट खरिद गर्नुपर्ने भन्दै उहाँले यहाँ विग्रीएर वसेका, कवाडीका रुपमा रहेकालाई मर्मत सम्भार गरि पुनः प्रयोग गर्न अभियान लागेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “बिदेशीने करोडौं रुपैंया बचत हुन गई देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्छ ।”
बिदेश जाने रकम घटाउन र बिपन्नलाई सहयोग गर्ने दुई वटा उद्देश्यका साथ अभियान थालिएको भन्दै उहाँले भन्नुभयो “तपाई जो कोही संग थन्कीएर बसेका ह्वीलचियर छन् भने बिपन्नका लागि सहयोग गर्नुस् ।”
अभियान मार्फत हाल सम्म ६ जना बिपन्नहरुलाई निःशुल्क ह्वीलचियर बितरण गरिएको छ । अवधारणाकर्ता राउतका अनुसार सन् २०२५ को सुरुवात संगै यस अभियान सुरु गरिएको हो । सुरुवाती चरणलाई सम्झदै राउतले भन्नुभयो “पहिलो ह्वीलचियर पाउने व्यक्ति र परिवारको अनुहारमा देखिएको खुशीले प्राप्त आत्मसन्तुष्टिले अभियानमा लाग्न प्रेरणा मिल्यो ।”
उहाँले भन्नुभयो “हामीले कतै बिग्रीयर बसेका ह्वीलचियरहरुलाई समेत खरीद गरेर वा सहयोगमा लियर आबश्यकता अनुसार मर्मत गरेर बितरण गर्ने गरेका छौ ।” मर्मतका लागि नारायणी बहुप्राबिधिक शिक्षालयमा रहेको इन्फिनिटी प्रयोगशालासंग समन्वय गरेर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
समाजमा आर्थिक रुपमा बिपन्न भएका परिवारका सदस्यहरुलाई सहयोग गर्ने उद्देश्यले काम सुरु गरेको यस अभियानले भावि दिनमा बैशाखी, वाकर र नक्कली खुट्टा समेत वितरण गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस !