चितवनः चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको अण्डा संकलन कार्य सुरु गर्न लागेको छ । निकुन्जले आज देखि राप्ती नदीमा रहेका गुँडहरुबाट अण्डा संकलन सुरु गर्न लागेको हो ।

निकुन्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार १८ वटा गँुड पहिचान गरि ती गुँडबाट अण्डा संकलन कार्य सुरु गर्न लागिएको हो । राप्ती नदी क्षेत्रमा चैत १ गतेदेखि गुँड खोज्ने कार्य सुरु गरिएको थियो । भेटीएका गुँडहरुबाट अण्डा संकलन कार्य सुरु गर्न लागिएको उहाँको भनाई छ । बैशाख १० गतेसम्म निकुञ्जले राप्ती नदिमा गुँड खोजि गरेको थियो ।

ती गुँडबाट अण्डा संकलन गर्न लागिएको हो । गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडका अण्डा निकालिएको थियो । यस वर्ष दुई सय वढी अण्डा संकलन हुने अनुमान गरिएको उहाँले बताउनुभयो । यस वर्ष राप्ती नदीको पूर्वबाट सुरु गरिने छ । गत वर्ष २४७ वटा अण्डा संकलन गरी कोरलिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले गुँड धेरै भेटिएकाले यस वर्ष धेरै गुँडको अण्डा निकालीने अनुमान गरेका छौ ।”

निकुञ्जले गोही प्रजनन् केन्द्र स्थापना गरेर नदी किनारका जोखिमा रहेका गुँडबाट अण्डा संकलन गरेर प्रजनन् केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ । कोरलिएका बच्चाहरु हुर्काएर पुनः विभिन्न नदीहरुमा छोड्ने गरिएको छ । यहाँ हुर्कीका गरिएको घडियाल गोही नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको छ । पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको छ । सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस !