चितवनः कोभिडले थला परेका धेरैजसो उद्योगहरु अहिले पनि उठ्नै नसक्ने अवस्थामा पुगेका छन् । निरन्तरको प्रयासपछि केही उद्योग लयमा फर्किएपनि अधिकांश उद्योगलाई उठ्न निकै सकस भएको छ ।

उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतमले सञ्चालन गर्नु भएको कमर्सियल अर्गानिक एग्रिकल्चर कन्सेप्ट प्रा.लि.ले गौमन्त्र नामक अर्गानिक मल उत्पादन गर्दै आएको छ । कोभिडसँगै ओरालो लागेको उहाँको उद्योगलाई लयमा फर्काउन निकै ठूलो मिहिनेत गर्नुप¥यो । गौतमले भन्नुभयो “ठूलो मिहिनेत र लगानी गरेर उद्योगलाई अहिले लयमा फर्काउन सकिएको छ ।” रातदिन नभनि परिश्रम गरेकै कारण उद्योग लयतर्फ फर्किएको उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो “धेरै रात म काम गर्दागर्दै उद्योगमै निदाएँ ।” आफ्नो उद्योग लयमा फर्किएपनि धेरै उद्योग उठ्न नसकेको उहाँको भनाई छ । नेपालमा खपत गर्ने ठूलो जनसंख्या विदेशमा रहनु, नेपालको अर्थतन्त्र आवश्यक मात्रामा चलायमान हुन नसक्नु र बैंकले लगानीमा कडाई गर्नु पनि उद्योग उठ्न कठिन भएको उहाँको ठम्याई छ ।

नेपाल उद्योग परिसंघ वागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल प्रदेशभित्रका ४० प्रतिशत उद्योग बन्द रहेको बताउनुहुन्छ । चलेका ६० प्रतिशत मध्ये १० प्रतिशत मात्रै नाफामा रहेको उहाँको भनाई छ । उद्योग संघ चितवनका पूर्व अध्यक्ष समेत रहनु भएका कँडेल बैंकको ऋणका लागि मात्रै उद्योग चलाउनेहरु धेरै छन् । उहाँले भन्नुभयो “ऋण थप्दै जाँदा अहिले धितोले ऋण नधान्ने अवस्थामा पुगेको छ ।” उद्योग मात्रै नभएर बैंकहरु समेत अप्ठ्यारोमा पुगेको कँडेलको भनाई छ । उहाँले थप्नुभयो “बल्ल तल्ल गरिएको उत्पादन पनि बिक्री हुँदैन, कसरी उद्योग चल्छ ?”

कच्चा पदार्थ किन्ने पैसा नहुँदा कम क्षमतामा उद्योग चल्ने र यसकै कारण घाटा चुलिंदै गएको उहाँले बताउनुभयो । उहाँको भनाईमा उद्योगले धान्ने भन्दा धेरै ऋण हुँदा धेरैको उद्योगको अवस्था नाजुक बन्दै गएको छ । सरकारले सहुलियत दिन नसक्दा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्ने अवस्था नरहेको कँडेलको भनाई छ । गत वर्षसम्म महंगो बैंक व्याजले पनि उद्योगलाई अप्ठ्यारो पारेको थियो । मजदुरको बढ्दो ज्याला, महंगो ढुवानी, कच्चा पदार्थको मूल्यबृद्धि लगायतका कारण नेपाली उत्पादनको लागत बढेको र विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेको कँडेल बताउनुहुन्छ ।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेल धेरै पोल्ट्री व्यवसायीले पेशा छाडिसकेको बताउनुहुन्छ । टिकेकाहरु मध्ये अधिकांश ऋण थपेर टिकेको भन्दै उहाँले लागत मूल्य नपाएपछि उद्योगहरु बन्द हुँदै गएको बताउनुभयो । वर्षदिनमा एक पटक अण्डाले लागत मूल्य पाउँदा सरकारी निकायको ध्यानाकर्षण हुने भएपनि वर्षाैसम्म नोक्सानमा काम गर्नुपर्दा राज्यले ध्यान नदिएको उहाँको गुनासो छ ।

भारतीय सीमा क्षेत्रबाट अवैध रुपमा भित्रिने पोल्ट्रीजन्य पदार्थ रोकिए मात्रै पनि यहाँका पोल्ट्री व्यवसायीलाई केही राहत मिल्ने उहाँले बताउनुभयो । यस्तै अवस्था रहेमा आत्मनिर्भर यो व्यवसाय समाप्त भएर जाने उहाँको भनाई छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डे आधा होटल आर्थिक संकटमा परेको बताउनुहुन्छ । होटल चल्नका लागि कम्तीमा ६० प्रतिशत क्षमता (अक्युपेन्सी) मा सञ्चालन हुनु पर्ने भएपनि ५० प्रतिशत भन्दा तलको क्षमतामा सञ्चालन गर्नु परेको बताउनुहुन्छ ।
उहाँको भनाईमा दिनहुँ व्यहोर्नु परेको घाटाका कारण पर्यटन उद्योगमा संकट थपिंदै गएको छ । विदेशी पर्यटकको संख्या नबढाएसम्म आर्थिक समृद्धि नहुने भन्दै उहाँले नेपाली पर्यटक आएर मात्रै क्षणिक सञ्चालन हुन सकेपनि दीर्घकालिन समस्या समाधान नहुने बताउनुभयो ।
वार्षिक रुपमा ६० देखि ७० हजार नेपाली अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया जस्ता देशमा बसाई सरेर गएको भन्दै उहाँले युवा जनशक्ति पलायत हुँदा पनि पर्यटन व्यवसाय प्रभावित भएको बताउनुभयो ।
चितवनको पर्यटन व्यवसाय प्रभावित हुनुको प्रमुख कारण सडक सञ्जाल पनि भएको उहाँको भनाई छ । भैरहवा, पोखरा र काठमाण्डौंबाट आउने पर्यटक सडकका कारण आउन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “ट्राभलहरुले सडकका कारण पर्यटक पठाउनै छाडेका छन् ।”
कोभिडपछि व्यवसाय उठ्न नसक्दा कतिपय होटलमा बैंकले ताला समेत लगाएको उहाँले बताउनुभयो । उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवि सुवेदी कोभिडपछि बजार क्षेत्रका धेरै पसल समेत बन्द भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “समग्र अर्थतन्त्र प्रभावित भएपछि उद्योग र व्यवसाय पनि प्रभावित बनेको छ ।” सरकारले उद्योग व्यवसायका समस्यालाई मसिनो गरी केलाएर सम्बोधन गर्नुपर्ने उहाँको माग छ । ऋण थप्दै जाँदा धितोले धान्न नसक्ने अवस्थामा उद्योगी पुगेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “अब पनि सरकारले सम्बोधन गरेन भने नेपालमा उद्योग टिकाउन निकै सकस हुन्छ ।”

प्रतिक्रिया दिनुहोस !