
चितवनः भरतपुरमा बनेको सिक्स लेन सडकमा आज एमालेको युवा संघले मोटरसाइकल र्याली निकालेको छ । राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीको आयोजनामा गोन्द्राङ्देखि पुल्चोकसम्म आज दिउँसो २ः३० बजेबाट मोटरसाइकल र्याली निकालिएको हो ।
गोन्द्राङ्बाट सुरु भएको र्याली चौबिसकोठी, शहिद चोक हुँदै पुल्चोक पुगेर पुनः चौबिसकोठीमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभालाई नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठक र निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपानेले संवोधन गर्नुभयो ।
कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाठकले भरतपुरको सिक्स लेन सडक केपी शर्मा ओलीले बनाएको बताउँदै यसमा रेनु दाहालले जस लिनका लागि भ्रम छरिरहेको बताउनुभयो । देशभरका राजमार्ग विस्तार गर्ने राष्ट्रिय योजना अन्तर्गत भरतपुरको पुल्चोक गोन्द्राङ् सडकखण्ड विस्तारको कामलाई तत्कालीन ओली नेतृत्वको सरकारले अघि बढाएको उहाँले बताउनुभयो । संघीय सरकारको बजेटमा संघ अन्तर्गतको कार्यालय सडक डिभिजन भरतपुरमार्फत सडक विस्तार गरिएकाले यसमा स्थानीय सरकारले जस लिन कुनै ठाउँ नै नरहेको उहाँले बताउनुभयो ।
भोलि नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको उद्घाटन साथै भरतपुरको सिक्स लेन सडकको उद्घाटन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेकाले दुबै कार्यक्रमको प्रचार र प्रधानमन्त्रीको स्वागतका लागि मोटरसाइकल र्याली निकालिएको राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीका अध्यक्ष राम कार्कीले जानकारी दिनुभयो भयो ।