चितवनः क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पताल वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नो सेवा विस्तार गर्ने भएको छ । अस्पतालले दुई वटा फार्मेसी र डेण्टल सेवा थप गर्न लागेको हो । बिरामीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्न लागिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार यही आर्थिक वर्षभित्र नै फार्मेसी थप गर्न लागिएको हो । अहिले अस्पतालमा दुई वटा फार्मेसी रहेका छन् । ती फार्मेसीमा बिरामीको भिड अत्याधिक भएपछि थप गर्न लागिएको उहाँको भनाई छ ।

अस्पतालमा डेन्टलको क्यान्सर भएका बिरामीलाई उपचार दिन डेन्टल सेवा चलाउने काम अगाडि बढेको उहाँले जानकारी दिनुभयो । अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार अस्पतालमा थन्किएर बसेको सिटी मर्मत गरी सञ्चालनमा आएको छ । यसको ट्यूव परिवर्तन गरेर सञ्चालनमा ल्याएसँगै ईन्टरभेन्सन रेडियोलोजी सेवा शुरु गरिएको छ । महिलाको स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम उपकरण आईसकेको छ । अक्टोबरमा यो उपकरण जडान गरिंदै छ ।

बोनम्यारो ट्रान्सप्लान्टका लागि काम अघि बढेको छ । नेपालका अनुसार सन् २०२४ को अन्त्यसम्ममा काम शुरु गर्ने तयारी छ । अस्पतालले पेटस्क्यान र साईक्लोटोन खरिदको प्रक्रिया अघि बढाएको छ । सिटी एएमआरआई लगायतमा पालो कुर्नुपर्ने अवस्थाका अन्त्य भएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजय न्यौपानेका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा १ लाख ८८ हजार ५१४ जना बिरामीले बहिरंग विभागबाट सेवा लिएका छन् । यो संख्या आर्थिक वर्ष २०७९÷०८० मा १ लाख ६६ हजार २ सय रहेको थियो । यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा १ लाख ७४ हजार ९३५ रहेको थियो भने आर्थिक वर्ष २०७७÷०७८ मा १ लाख ३१ हजार ३०५ रहेको थियो ।

उहाँका अनुसार सोही अवधिमा अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये नयाँ क्यान्सरका बिरामीको समेत संख्या बढ्दो रहेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा ६ हजार ७९५ जना नयाँ क्यान्सरका बिरामी पहिचान भएको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९÷०८० मा यो संख्या ६ हजार ४८० रहेको थियो । यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा यो संख्या ६ हजार ५३५ रहेको थियो भने आर्थिक वर्ष २०७७÷०७८ मा यो संख्या २ हजार ९७९ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !