चितवनः जिल्लामा थप एक जनाको डेंगुको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २० चनौलिका ४१ बर्षिय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
ज्वरो आएर उपचारका लागि आएका उनको उपचारको क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मंगलबार मृत्यु भएको भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. कल्याण सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीमा कडा खालको डेंगु देखिएको थियो । शरिरका बिभिन्न भागबाट रक्तश्राब भई अंगहरुले काम गर्न छोडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको हो । भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यस अघि शनिबार चितवन मेडीकल कलेजमा भरतपुर महानगरपालिका वडा नम्बर २ का ६३ बर्षिय बृद्धको डेंगुको संक्रमणका कारण मृत्यु भएको थियो ।

जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये ७८८ जनामा डेंगुको संक्रमण देखिएको छ । ३ हजार ३३१ जनाको परीक्षणका क्रममा उनीहरुमा यो रोगको संक्रमण देखिएको हो । संक्रमित मध्ये ५८० जना चितवनका र अन्य जिल्ला बाहिरको रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !