चितवनः बागमती प्रदेश अन्तर्गतको बकुलहर रत्ननगर अस्पतालले पछिल्ला वर्षहरुमा रहर लाग्दो प्रगति गरेको छ । अस्पतालले भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन गरेर सेवा विस्तार गरेपछि बिरामी चाप ह्वात्तै बढेको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन ज्ञवालीका अनुसार गत आर्थिक वर्षमा दुई लाख ५४ हजार ८३० जना बिरामीले सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा यो संख्या दुई लाख चार हजार ५०६ थियो । आर्थिक वर्ष २०७८÷०७९ मा एक लाख ५२ हजार ५२७ बिरामीले सेवा लिएका थिए । वार्षिक ५० हजारको हाराहारीमा बिरामीको संख्या थपिंदै गएको उहाँले बताउनुभयो ।
अस्पतालमा गत आर्थिक वर्षमा बहिरंग सेवामा दुई लाख ४६ हजार ७२३ जनाले सेवा लिएका छन् । आर्थिक वर्ष २०७९÷०८० मा यो संख्या दुई लाख तीन हजार ११० थियो । यस्तै आर्थिक वर्ष २०७८÷७९ मा एक लाख ४२ हजार ८०८, २०७७÷०७८ ८५ हजार ५५२ बिरामीले बहिरंग सेवा लिएका थिए ।
अस्पतालमा आकस्मिक सेवा लिनहरुको संख्या पनि बढ्दै गएका छन् । मेडिकल सुपरिटेण्डेण्ट डा.ज्ञवालीका अनुसार गत आर्थिक वर्षमा १८ हजार १०७ जनाले आकस्मिक सेवा लिएका छन् । आर्थिक वर्ष २०७९÷०८० मा यो संख्या १३ हजार ९७ रहेको थियो । यस्तै २०७८÷०७९ मा नौ हजार ७१९ र २०७७÷०७८ मा पाँच हजार ४१४ रहेको थियो ।
प्रयोगशा र रेडियोलोजी सेवा लिनेहरुको संख्या पनि अत्याधिक बढेर गएको छ । गत आर्थिक वर्षमा एक लाख पाँच हजार २१ जनाले सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा यो सेवा लिनेको संख्या ९८ हजार ४२४ थियो । आर्थिक वर्ष २०७८÷०७९ मा यो संख्या ४४ हजार ७८४ थियो भने २०७७÷०७८ मा ३३ हजार ११२ मात्रै थियो ।
अस्पतालमा भर्ना भएर उपचार लिने बिरामीको संख्या गत आर्थिक वर्षमा तीन ९८०, अघिल्लो आर्थिक वर्षमा ३ हजार ८५९ र आर्थिक वर्ष २०७८÷०७९ मा दुई हजार ३१४ रहेको छ । मेडिकल सुपरिटेण्डेण्ट डा. ज्ञवालीका अनुसार स्थान अभावका कारण भर्ना गरेर बिरामीको उपचार सेवा दिन कठिन भईरहेको छ । यद्यपी पछिल्ला वर्षहरुमा यो संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७५÷०७६ अस्पतालमा भर्ना गरेर ४९२ जना बिरामीलाई सेवा दिईएको थियो । यो क्रमशः बढ्दै गएको हो ।
अस्पताललाई गत आर्थिक वर्षबाट एक सय शैयाको स्वीकृत प्रदान गरेको छ । अस्पतालमा अहिले ९० शैया सञ्चालनमा छन् । अस्पतालमा पाँच शैयाको सघन उपचार कक्ष, आठ शैयाको बाल सघन उपचार कक्ष रहेका छन् । अस्पतालमा विशेषज्ञ चिकित्सक २५ जना, दन्त चिकित्सक चार, मेडिकल अधिकृत १७ जना सहित २४० जना जनशक्तिले सेवा दिईरहेको छ । न्यून जनशक्तिले धेरै बिरामीलाई सेवा दिंदै आएको उहाँले बताउनुभयो । अस्पतालमा पर्याप्त जग्गा नहुँदा भौतिक पूर्वाधारका काम गर्न कठिन भएको, मृर्गौलाको डाईलासिस उपकरण अभावमा बिरामी धेरै कुर्नु परेको डा. ज्ञवालीले बताउनुभयो ।
पछिल्ला दिनहरुमा बिरामीको उच्च चापका कारण शैया, शल्यक्रिया कक्ष, फार्मेसीको सुदृढिकरण गर्ने तयारीमा रहेको उहाँको भनाई छ । मातृ शिशु भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अस्पतालमा ८० प्रतिशत स्वास्थ्य बीमाका बिरामी आउने गर्दछन् । मुख्य गरी पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिकाका बिरामी आउने यस अस्पतालमा मकवानपुर, धादिङ, नवलपरासी र भरतपुरबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । मुख्य रुपमा छाला रोगका बिरामी टाढाटाढाबाट आउने गर्दछन् ।
अस्पतालमा मेडिसिन, सर्जिकल, छाला, बालबालिका, नाक–कान–घाँटी, मनोरोग, हार्डजोर्नी, प्रसुती तथा स्त्री, दन्त चिकित्सा लगायतका सेवा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !