चितवनः बिरामी र बिरामीका आफन्तले अस्पतालको प्रयोगशालाको नतिजा लिन लामो लाईन बस्नु पर्ने बाध्यता हटेको छ । यहाँको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा स्वचालित मेसिनबाट प्रयोगशालाको नजिता (ल्याब रिपोर्ट) दिन थालेपछि बिरामी र उनीहरुका आफन्तले नतिजा लिनका लागि लामो लाईन बस्नु पर्ने बाध्यता हटेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालमा प्रयोगशाला रिपोर्ट दिने स्वचालित मेसिन जडान भएपछि लामो लाइनमा बसेर प्रयोगशाला रिपोर्ट लिनु पर्ने बाध्यता हटेको बताउनुभयो । मेसिनमा रहेको क्युआर स्क्यानरमा सेवाग्राहीले आफ्नो बिलमा रहेको बारकोड देखाएपछि मेसिनबाट स्वचालित रूपमा सम्बन्धित व्यक्तिको रिपोर्ट प्रिन्ट भएर आउने उहाँले जानकारी दिनुभयो । यसअघि अस्पतालमा बिहान रगत जाँच गर्न दिएपछि दिउँसो २ बजे पछि प्रयोगशालाको रिपोर्ट दिईदै आएको थियो । त्यसको लागि लामो लाइन बस्नुपर्ने अवस्था थियो । उहाँले भन्नुभयो ‘‘अब बिलमा भएको बारकोड स्क्यान गरेपछि तयार भएको रिपोर्ट आफैले प्रिन्ट निकालेर सहज रुपमा लिन सकिन्छ । अब प्रयोगशाको रिपोर्ट ढिलो आउने, लाइन बस्नुपर्ने बिरामीको गुनासो अन्त्य भएको छ ।”

दैनिक नौ सय हाराहारी नयाँ बिरामी सेवा लिन आउने गरेको भन्दै उहाँले जसमध्ये प्रयोगमामा तीन सयदेखि तीन सय ५० को हाराहारीमा रगत जाँच गर्ने गरेको बताउनुभयो । यस अस्पतालमा नेपालका सबै जिल्ला र भारतीय सीमा क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । केमो र रेडिएसन दिनु पर्ने बिरामीले प्रत्येक पटक चिकित्सकलाई देखाउन आउँदा रगतको परीक्षण गर्नुपर्ने हुन्छ । प्रयोगशालामा अत्याधिक चाप भएपछि अस्पतालले स्वचालित मेसिन जडान गरेको हो ।

प्रतिक्रिया दिनुहोस !