चितवनः वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको केमोको डोज बढी दिएर मृत्यु भएपछि दुई जना नर्सलाई निलम्बन गरिएको छ । चिकित्सक सहित २३ जनालाई स्पष्टिकरण माग गरी सचेत गराईएको हो ।

अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनु पर्नेभन्दा दश गुणा बढी केमो दिएपछि मृत्यु भएको थियो । बिरामीलाई ३ दशमलब ४ मिलिग्राम केमो दिनु पर्नेमा ३४ मिलिग्राम केमो दिएपछि बिरामीको मृत्यु भएको हो ।

अस्पतालले दिएको जानकारी अनुसार लम्जुङको दोर्दीका ५० वर्षिय भक्तराज गुरुङ्गको खुट्टाको छालाको क्यान्सरको उपचारका क्रममा आवश्यकभन्दा बढी केमो दिएपछि उनको मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले ३ दशमबल ४ मिलिग्राम केमो दिनु पर्नेमा ३४ मिलिग्राम केमो दिएपछि बिरामीको मृत्यु भएको बताउनुभयो । गएको असार १३ गते राती १०ः३८ बजे बिरामीको मृत्यु भएको हो । त्यस अघि बिरामीलाई मेडिकल वार्डमा तीनपटकसम्म सोही डोजको केमो दिएपछि केमोको डोज धान्न नसकेर बिरामी सिकिस्त भएका थिए ।

खुट्टाको छालाको क्यान्सर मेलानोमा भएपछि शल्यक्रिया गरिएको थियो । रोग फैलिएर खुट्टा मुनिको काछसम्म पुगेर गाँठागुठी देखिए पछि बायोप्सि गरेर क्यान्सर एकिन गरिएको थियो । सो पश्चात बिरामीलाई केमो दिईएको हो ।

बिरामीको उपचारमा लापरवाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सक सहित २३ जना नर्ससँग स्पष्टिकरण मागेको छ । सूचना अधिकारी महतोका अनुसार नर्स प्रभा तामाङ् र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ । अस्पतालले उपनिर्देशक डा. उमेश नेपाल, मेडिकल अंकोलोजी बिभागका प्रमुख डा. गुरुशरण शाह र नर्सिङ् प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति बनाएको थियो । समितिले साउन ३ गते प्रतिवेदन बुझाएको महतोले जानकारी दिनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिएपछि सोही आधारमा दुई जनालाई निलम्बन र २३ जनालाई स्पष्टिकरण सोधिएको बताउनुभयो । यससँगै आवश्यक कारवाही प्रक्रिया अघि बढाईने उहाँको भनाई छ । पौडेलले भन्नुभयो “काममा लापरवाही देखिएमा जोसुकैलाई आवश्यक कारवाही गरिन्छ ।”

प्रतिक्रिया दिनुहोस !