चितवनः कृष्णपुरका विनोद ढकाललाई कक्षा नौमा पढ्ने छोराको कपाल छोटो बनाएर काट्न निकै कठिन हुने गर्दछ । विद्यालयबाट टेलिफोन गरेर कपाल छोटो बनाउन भनिए पनि छोराले कपाल छोटो बनाउन नमान्ने उहाँको गुनासो छ ।
एक पटक कपाल काट्दा छोटो नभएपछि पटक पटक शैलुन लैजानु पर्ने गुनासो उहाँले पोख्नुभयो । कक्षा १२ मा अध्ययनरत छोरालाई कपाल काट्न भन्न छोडेको भरतपुर १० का बुद्धिकान्त न्यौपाने बताउनुहुन्छ । उहाँले भन्नुभयो “ठूलो छोरालाई कपाल काट्न भन्न छाडेँ, कक्षा ७ मा पढ्ने कान्छो छोराले पनि टेर्न छोड्यो ।”
यी प्रतिनिधि पात्र मात्रै हुन्, हिजो आज धेरै अभिभावकको गुनासो यसैमा हुने गरेको छ । विद्यालय र उच्च शिक्षा पढ्दै गरेका विद्यार्थीहरु लामो कपाल पाल्न सौखिन हुन थालेका छन् । कतिपयले त लामो कपाल कोर्न समेत इन्कार गर्ने गर्दछन् । जस्तो छ उस्तै छोड्ने उनीहरुको बानी हुने गरेको छ ।
विद्यालयहरुले कपाल काट्न दवाव दिन नहुने भएपछि अभिभावकको साहारा लिन थालेका छन् । विद्यार्थीले कपाल काट्न दवाव दिएको भन्दै हेलो सरकार र प्रहरीमा समेत उजुरी दिने गरेको पाईएको छ । भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख सुवास आचार्य विद्यार्थीहरुले कपाल काट्न लगायो भनेर हेलो सरकारमा उजुरी दिने गरेको बताउनुहुन्छ । बुबा आमा बाहिर रहेर हजुर बा आमासँग बस्ने, होस्टल (आवास) मा बस्ने, अभिभावकभन्दा टाढा रहेका विद्यार्थीहरुलाई कपाल छोटो बनाउन समस्या हुने गरेको आचार्य बताउनुहुन्छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) चितवनका अध्यक्ष मदन पुरी विद्यार्थीलाई कपाल काट्न भन्न छाडेको बताउनुहुन्छ । आफ्नो विद्यालय स्काईराईडर विरुद्ध हेलो सरकारमा १६ औं नम्बरमा उजुरी परेको भन्दै उहाँले देशभरका ३५ भन्दा बढी विद्यालय विरुद्ध विद्यालयले जबरजस्ती कपाल काट्न लगाउने गरेको उजुरी परेको जानकारी आफूले पाएको बताउनुभयो ।
हिजोआज आफ्नो विद्यालय जस्तै देशभरका सबै विद्यालयमा कपाल काट्ने समस्या भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “अहिले कपाल काट्ने विषयमा केही गर्न सक्ने अवस्था नै छैन ।” कक्षा नौदेखि १२ सम्म पढ्ने विद्यार्थीहरुमा यो समस्या भएको उहाँ बताउनुहुन्छ ।
सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१० औं संशोधन) मा जबरजस्ती विद्यार्थीको कपाल काट्न नपाउने व्यवस्था राखिएको छ । विद्यालयहरूले विद्यार्थीको इच्छा विपरीत कपाल काट्ने र काट्न लगाउने गरेको गुनासो आएपछि सरकारले ऐनमा नै यो व्यवस्था गरेको हो ।
नियमावलीको नियम २५ मा कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि विद्यालय परिसर वा कक्षा कोठाभित्र सञ्चालन गर्न गराउन नदिने भनिएको छ । विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउन नपाइने नियमावलीमा उल्लेख गरिएको छ ।
वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका मनोविज्ञान विषयका उपप्राध्यापक डा.सुरेन्द्र घिमिरे पहिलेपहिले विद्यार्थीहरु क्याम्पस पढ्ने समयमा मात्रै चलचित्र हेरेर विश्वका गतिविधि थाहा पाउने र सोको सिको गर्ने भएपनि अहिले सानै उमेरदेखि विश्वका गतिविधि देख्न पाउँदा त्यसप्रति नक्कल गर्ने झुकाव बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “नक्कल गर्ने मानिसको नैसर्गिक गुण हो । जे चिज ‘सेलिब्रेटी’ ले गर्छन्, त्यसको नक्कल उनीहरुले गर्न चाहन्छन् ।”
इन्टरनेट र सामाजिक सञ्जालको पहुँच सानै उमेरदेखि हुँदा अहिले किशोर अवस्थादेखि नै त्यसको सिको गर्न थालेको उहाँको बुझाई छ । उहाँले भन्नुभयो “बच्चाले मोबाईलमा सेलिब्रेटी देखेको छ, पहिले ठूलो भएपछि देख्थ्यो, अहिले त्यो उमेर तल झरेको छ ।”
सामाजिक मूल्यमान्यता विरुद्ध हिड्नेहरुले कपाल पाल्ने गरेको विगतमा देखिने गरेको भन्दै उहाँले त्यतिबेला कपाल पाल्नु आज्ञाकारिता विरुद्धको संकेतका रुपमा हेरिने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “कपाल पाल्ने, नराम्रो होइन, सांकेतिक अर्थ नराम्रो थियो ।” यद्यपी कपाल पाल्दै गर्दा त्यसको स्याहारसुधारमा लाग्ने खर्च र समयका कारण पढाईमा पर्ने असर भने कायमै रहेको उहाँ बताउनुहुन्छ ।
घर, विद्यालय सबैतिरबाट किशोर अवस्थामा कपाल नपाल्न आग्रह गरिए पनि नटेर्नुलार्ई भने आज्ञाकारिता विरुद्धको सांकेतिक विरोधका रुपमा लिन सकिने उहाँ बताउनुहुन्छ ।
विशेषगरी विद्यालय तथा कलेज तहका किशोरहरू छोटो कपालको परम्परागत शैलीभन्दा फरक, आफूलाई आकर्षक र आधुनिक देखाउने शैलीतर्फ आकर्षित हुन थालेको देखिन्छ । सामाजिक सञ्जाल, चलचित्र, संगीत तथा विदेशी फेसनको प्रभावले यो प्रवृत्तिलाई थप बढावा दिएको पाईन्छ ।
कपाल लामो हुँदा सफा गर्न गाह्रो हुने, दैनिक हेरचाहामा समय खर्च गर्नुपर्ने, खर्चिलो हुने र स्याहार सुधार गर्न नसकेमा जुम्रा, चाया परेर स्वास्थ्यमा असर पार्ने विज्ञहरु बताउँछन् । धेरै लामो वा बाक्लो कपालमा पसिना र फोहोर जम्ने हुँदा विशेषगरी गर्मीमा समस्या हुने गर्दछ ।






