चितवनः सरकारले आर्थिक ऐन ०८३ जारी गरेपछि हालसम्म जिल्लामा दुई हजार नौ सय ०६ फर्मले छुट सुविधा लिएका छन् । आयकर, मूल्य अभिबृद्धि कर र अन्तशुल्कको हालसम्म रहेको बक्यौता मध्ये वक्यौता र थप एक प्रतिशत कर बुझाएमा बाँकी व्याज, जरिवाना, विलम्ब शुल्क मिनाहा हुने व्यवस्था ऐनले गरेको हो । ऐन आएसँगै वक्यौता भुक्तान गर्ने क्रम शुरु भएसँगै राजश्व समेत बढेको छ ।

लामो समयसम्म करको वक्यौता रहेर भुक्तान गर्न नसकि व्यवसाय अगाडि बढाउन नसकेका करदाताहरुलाई एक पटकका लागि सरकारले यो अवसर दिएको आन्तरिक राजश्व कार्यालय चितवनका प्रमुख पुण्यबिक्रम खड्काले बताउनुभयो । उहाँका अनुसार जुनसुकै करको वक्यौताा भएपनि यो सुविधा लिन सकिने छ । उहाँले भन्नुभयो “यसलाई अवसरका रुपमा लिएर कर छुटको सुविधा उपभोग गर्नुहोस् ।” यस्तो सुविधा पुनः आउन नसक्ने भन्दै आएको अवसर नगुमाउन आग्रह गर्नुभयो ।

उहाँका अनुसार बिं. २०८२ भदौ २ सम्म विवरण नबुझाएका सुन,चाँदी, गरगहना, हिरा, रत्न, पत्थरमा दिएको विलासिता शुल्क र मूल्य अभिबृद्धि करमा एउटा फर्मले छुट लिएको छ । संस्था दर्ता ऐन २०३४ लाई आयकर छुट अन्तर्गत दुई वटा फर्मले सुविधा लिएका छन् ।

आयकर तर्फ प्यान नं. नलिई कारोकार गर्ने सात वटा फर्मले छुट सुविधा लिएका हुन् । आयकर तर्फ प्यान नं. लिई हालसम्म कारोवार नगर्ने २६६ फर्मले यो सुविधा लिएका छन् । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार आयकरतर्फ व्याज जरिवाना छुटको सुविधा कार्यालय मार्फत् तीन सय २६ फर्म र अनलाईन सिस्टमबाट एक हजार ९६४ फर्मले सुविधा लिएको उहाँले जानकारी दिनुभयो ।

मूल्य अभिबृद्धि करतर्फ कर संकलन नगरेको र विवरण पनि दाखिला नगरेका ४४, कर संकलन गरेको तर विवरण दाखिला नगरेका ३८ फर्मले छुट सुविधा लिएका छन् । यस्तै अन्तशुल्कतर्फ कारोकारबारको असुलउपर र विवरणमा छ वटा र इजाजत नविकरण नगरेका २१६ वटा फर्मले सुविधा लिएको खड्काले जानकारी दिनुभयो ।

आयकर, मूल्यअभिबृद्धि कर, अन्तशुल्क तर्फ विवरण पेश गरी कर नबुझाएका २३, कर निर्धारणबाट सिर्जित बक्यौता दाखिला गर्ने ११ वटा र विचाराधिन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने दुई वटा फर्मले छुट सुविधा लिएका छन् ।

जिल्लामा आयकरतर्फ ७४ हजार ३६६ करदाता रहेका छन् । ती मध्ये मूल्य अभिबृद्धि करमा ११ हजार ३४५ र अन्तशुल्कमा चार हजार ९६१ दर्ता भएका छन् । हालसम्मको तथ्यांक अनुसार मूल्य अभिबृद्धि करतर्फ सबै महिनाको विवरण नबुझाउने करदाताको संख्या अनुसार ५५ प्रतिशत रहेका छन् । आयकर तर्फ आर्थिक वर्ष २०८१÷०८२ सम्म ३३ प्रतिशत करदाताले विवरण बुझाउन बाँकी देखिन्छ । आयकर तर्फ आर्थिक ऐन २०८३ ले दिएको छुट सुविधा लिने करदाता बि.सं. २०८३ जेठ १५ देखि भदौ ५ गतेसम्म दुई हजार पाँच सय ६३ करदाताले विवरण बुझाई कर दाखिला गरिसकेको उहाँको भनाई छ ।

मूल्य अभिबृद्धि करतर्फ ८२ करदाताले विवरण बुझाई कर रकम समेत दाखिला गरेको देखिएको छ । अन्तशुल्कतर्फ जम्मा २२२ करदाताले आर्थिक ऐन २०८३ को दफा ४३ (१) र (२) अनुसार अन्तशुल्क दस्तुर बुझेर विवरण समेत दाखिला गरिसकेका छन् ।

गत आर्थिक वर्ष २०८२÷०८३ को साउनमा रु. एक अर्ब ५३ करोड ३९ लाख १० हजार राजश्व संकलन भएकोमा यस वर्षको साउनमा रु. एक अर्ब ८१ करोड ५५ लाख ५८ हजार राजश्व संकलन भएको उहाँले बताउनुभयो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमाभन्दा चालु आर्थिक वर्षको यस अवधिमा रु. २८ करोड राजश्व बढी संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस !