चितवनः चितवन जिल्ला हुँदै वगेका त्रिशूली र नारायणी नदीमा आज बिहानै देखि शव खोज्ने काम सुरु गरिएको छ । बिहान ११ वजे सम्म ६९ जनाको सग्लो र अंगभंग फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक रामेश्वर पौडेलका अनुसार फेला परेकाहरु मध्ये १९ जना पुरुष, १५ जना महिला, ४ जना बालक, २ जना बालिका र २९ वटा अंगहरु फेला परेको छ । दुई नदी किनारमा बिहान सबेरै देखि सुरक्षा निकाय परिचालन गरिएको छ । नेपाली सेनाका ३३३ जना, नेपाल प्रहरीका २५० जना र शशस्त्र प्रहरीका १५० जना भन्दा वढी नदी किनारमा परिचालन भएका छन् ।
तीन वटै सुरक्षा निकायले जिल्लाको भूभागमा पर्ने नदीको क्षेत्रमा शबको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा आज शब खोजी र व्यवस्थापनका बिषयमा सरोकारवालाहरु संग छलफल गरिएको छ । सो क्रममा अर्यालले उद्योग संघ चितवन संगै रहेको औद्योगीक बिकास प्रतिष्ठानमा शव राख्नका लागि बातावरण अनुकुलित ठाउँ वनाइदैं गरेको बताउनुभयो । सो ठाउँमा शब राखेर सम्बन्धित शबको तस्बिर बाहिर मोनिटरमा प्रदर्शन गरिदैं छ । भेटिएका शबको नजिकबाट तस्बिर लिएर कोडिङ् गरिदैं छ । शबको खोजीमा आएकाहरुलाई देखाए पछि पहिचान भए संगै आबश्यक प्रकृया पुरा गरेर शब दिइने छ ।
हाल सम्म भेटीएका शबहरु भरतपुर अस्पतालको शब गृह र नअटेका बाहिर राखिएको छ । अर्यालले जिल्लामा राम्रो संग राख्दा ३० वटा शब र खाँदेर राख्दा ५० वटा मात्र राख्ने क्षमता भएको बताउनुभयो । काठमाडौंमा यो क्षमता २०० भए पनि भरिएकाले यही व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । बाहिरी जिल्लाबाट पठाईएका शबलाई सम्बन्धित जिल्लामा फिर्ता गरिएको भन्दै उहाँले अन्य जिल्लालाई आफै व्यवस्थापन गर्न आग्रह गरिएको बताउनुभयो । तनहुँबाट बुधबार पठाईएका ९ वटा शबलाई फिर्ता गरिएको थियो ।
नेपाल रेडक्रश सोसाईटीले शब राख्नका लागि ९५ वटा झोला सुरक्षा निकायलाई हस्तान्तरण गरेको छ । शबको लागि आबश्यक त्रिपाल र स्टेचर पनि रेडक्रशलेनै उपलव्ध गराएको छ । बैठकमा होटल व्यवसायी संघ चितवनले आफन्त हराएर खोज्न आउनेहरुलाई निःशुल्क रुपमा खान र बस्ने व्यवस्था गर्ने जनाएको छ । संघका महासचिब कृष्ण कुमार चौधरीले सबै होटलमा छुट्याएर बस्ने र खाने व्यवस्था गरिने बताउनुभयो । शब खोजी र व्यवस्थापनका क्रममा आबश्यक सामाग्री सहयोग गर्न उद्योग बाणिज्य संघ चितवन र उद्योग संघले आँफु र मातहतका निकाय मार्फत सहयोग गर्ने जनाएका छन् । सो क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले विभत्स तस्विर समाजिक संञ्जाल र संञ्चार माध्यममा प्रयोग नगर्न आग्रह गर्नुभएको थियो ।
बैठकमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नदी तटिय क्षेत्रका वडा अध्यक्षहरु, सुरक्षा निकायका प्रमुखहरु, अस्पतालका व्यवस्थापक एबं संञ्चालकहरु, उद्योग बाणिज्य संघ र उद्योग संघका अध्यक्षहरु लगाएतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।



