चितवनः जिल्लामा साउन यता ५१ जनामा डेंगुको संक्रमण देखिएको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार हाल सम्म गरिएको तीन सय जनाको परिक्षणका क्रममा ६४ जनामा डेंगु संक्रमण देखिएको हो । जस मध्ये ५१ जना चितवनका हुन । अन्य जिल्ला बाहिरका रहेका छन् ।
कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेंगुको संक्रमण बढेको छ । गाउँपालिकामा हाल सम्म ४५ जनामा डेंगुको संक्रमण देखिएको उहाँले बताउनुभयो । भरतपुर महानगरपाकिलामा हाल सम्म ६ जनामा डेंगु देखिएको छ । उहाँले भन्नुभयो “डेंगुको संक्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी रहेको छ ।” संक्रमण बढे संगै संक्रमित क्षेत्रमा सचेतना बढाईएको उहाँले बताउनुभयो ।
जिल्लामा गत आर्थिक वर्षमा १ हजार ८३१ जनामा डेंगुको संक्रमण देखिएको थियो । उहाँका अनुसार २३ हजार ८४० जनाको परिक्षणका क्रममा उनीहरुमा संक्रमण देखिएको हो । बर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकुल बातावरण बन्ने भएकाले बिशेष गरि भदौ, असोजमा डेंगु रोग देखिने गर्दछ । उहाँले भन्नुभयो “अहिले साउनको सुरुवात देखिनै डेंगुको सङ्क्रमण देखिन थालेको छ ।”यो रोग एडिस जातको पोथि लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने प्रमुख रुपाखेतीले जानकारी दिनुभयो । बर्षातको महिना संगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको उहाँले बताउनुभयो ।
यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्ने कार्यालयका भेक्टर कन्टोल निरिक्षक राम केसीले जानकारी दिनुभयो । केसीका अनुसार डेंगु रोगको ज्वरो ५ देखि ७ दिन सम्म रहन सक्छ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राब हुने, उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखा पर्छ । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने जस्ता लक्षण देखा पर्ने उहाँले बताउनुभयो । डेंगु ज्वरो बिषाणुका कारण हुने भएकाले यसको खासै उपचार नहुने उहाँले जानकारी दिनुभयो ।
डेंगु ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाईबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यस्तै आँफु बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको केसीले बताउनुभयो । पानी जमिरहेको भए एक हप्तामा १ पटक पानी वरिपरि मोविल वा मट्टितेल छर्कने र खाने पानीको ट्याङ्कीलाई पनि लामखुट्टे छिर्न नमिल्ने गरि ढाकेर राख्नु पर्दछ ।
चितवनमा यसको ईतिहाँस
डेंगु ज्वरो नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा देखिएको थियो । चितवन घुम्न आएका एक जापानी पर्यटकमा यो रोग पुष्टि भएको थियो । उनलाई सामान्य ज्वरो आएका कारण उपचार पश्चात जापान फर्किएर परिक्षणका क्रममा डेंगु पुष्टि भएको कार्यालयका प्रमुख रुपाखेतीले जानकारी दिनुभयो । त्यस पछि सन २००६ मा तराई र भित्रि मदेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । सन् २००९ मा चितवनमा ९ जनामा डेंगुको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । यो संगै आपासका जिल्लाहरुबाट पनि ज्वरोका बिरामीहरु उपचारका लागि चितवन आउने गरेका थिए । सन् २०१० मा ३ हजार २९८ जनाको परिक्षणका क्रममा ७३९ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो ।

यस्तै आर्थिक वर्ष २०७४÷०७५ मा १ हजार २९१ जनाको परिक्षणका क्रममा ५९ वनामा पुष्टि भएको थियो । सो समयमा एक जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा १ हजार ९५१ जनाको परिक्षणका क्रममा ३१ जनामा डेंगु भेटिएको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा १९ हजार २३० जनाको परिक्षणको क्रममा ४ हजार ८०३ जनामा संक्रमण देखिएको थियो भने ३ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा १ हजार ७१७ जनाको परिक्षणका क्रममा २४३ जनामा डेंगु रोग देखिएको कार्यालयका भेक्टर कन्टोल निरिक्षक केसीले जानकारी दिनुभयो । यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा १४ हजार ९७८ जनाको परिक्षण गरिएकोमा ३ हजार ३३६ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस बर्ष डेंगुका कारण चार जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९÷०८० मा ५ हजार ४५४ जनाको परिक्षण गर्दा ३०३ जनामा डेंगुको संक्रमण देखिएको थियो ।
डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालयको प्रयास
जिल्लामा डेंगु रोगको संक्रमण बढ्न थालेपछि जिल्लामा उच्च सतर्कता अपनाएको छ । जिल्लाको मुख्य बजार क्षेत्रमा डेंगुको प्रकोप बढ्दो क्रममा रहेको छ । यसलाई नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालय चितवनले जिल्लाका सातै पालिकाका स्वास्थ्य कर्मी, जनप्रतिनिधिहरुसंग अन्तरक्रिर्या, छलफल सकि सकेको छ । जलवायु परिवर्तन संगै लामखुट्टेको बानि बेहोरा र बासस्थानमा परिवर्तन आएका कारण यसको नियन्त्रणका लागि सातै पालिकामा लार्भा खोज र नष्ट गर अभियानलाई तिब्र पारिएको कार्यालयका प्रमुख रुपाखेतीले बताउनुभयो । यो अभियानलाई कात्तिक महिना सम्म हरेक स्थानीय तहले साताको एक दिन टोल टोलमा स्वास्थ्य कर्मी खटाएर गर्न कार्यालयले अनुरोध समेत गरेको छ ।
जिल्लाका सबै पालिकाहरुको मुख्य शहरी क्षेत्रमा लार्भा हुन सक्ने क्षेत्रहरुको खोजी भईरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !