चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा बिशेषज्ञ सेवा सुरु भएको छ । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल र भरतपुर आँखा अस्पतालसँगको समन्वयमा केन्द्रबाट हप्ताको तीन दिन बिशेषज्ञ सेवा दिन लागिएको हो ।
बिशेषज्ञ सेवाको भरतपुर महानगर प्रमुख रेनु दाहालले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । उहाँले स्थानीय ७२ बर्षिय नन्दकला कुवँर र ७० बर्षिय मुक्तिबहादुर घिमिरेलाई बिशेषज्ञ सेवाको टिकट प्रदान गरी सेवाको औपचारिक उद्घाटन गर्नुभएको हो ।
सेवाग्राहीको चापलाई मध्यनजर गर्दै बिशेषज्ञ सेवा नियमित सञ्चालन गर्न सकिने प्रमुख दाहालले बताउनुभयो । महानगरभित्र रहेको एक मात्र केन्द्रमा बिशेषज्ञ सेवा सुरु गरिएको भन्दै उहाँले यस्ता सेवा अन्य स्थानहरुमा समेत पु¥याउने लक्ष्यका साथ महानगरले काम गर्दै आएको बताउनुभयो ।
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले बिशेषज्ञ सेवा गाउँमानै पाएपछि यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताउनुभयो । उहाँले भन्नुभयो “बिरामी भए भनेर सदरमुकामसम्म धाउनु पर्ने बाध्यता हटाउन महानगरपालिकाले काम गरिरहेको छ ।”
केन्द्रबाट हरेक हप्ताको सोमबार, बुधबार र बिहिबार बिशेषज्ञ सेवा प्रदान गर्न लागिएको केन्द्रका प्रशासन प्रमुख प्रेमराज पौडेलले जानकारी दिनुभयो ।
बि.सं. २०२७ सालमा स्थापित यस स्वास्थ्य केन्द्रमा हाल मेडिकल अधिकृत ३ जना, पारामेडिक्स ९ जना, नर्सिङ् ८ जना, प्रयोगशालाकर्मी ४ जना, फर्मासिस्ट २ जना, रेडियोग्राफर १ जना, सहित ३२ जना कर्मचारी कार्यरत रहेका छन् ।
यस केन्द्रले गत आर्थिक वर्षमा ४९ हजार ३७५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको थियो । दैनिक १६५ जना हाराहारी बिरामीको उपचार गर्दै आएको यस केन्द्रबाट नियमित खोप सेवा, आमा सुरक्षा कार्यक्रम, प्रयोगशाला, एक्सरे, गर्भपरीक्षण, समुदायमा मेयर स्वास्थ्य कार्यक्रम लगायत सञ्चालन गर्दै आएको छ ।





