चितवनः जिल्लामा रहेका ११ हजार ५५४ जना बालबालिकाले पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार उनीहरुले जन्म भएपछि १५ महिनासम्मको उमेरमा लगाउनु पर्ने सबै खोप लगाएका हुन् ।

कार्यालयले गत चैतमा छुटपुट बालबालिको तथ्याङ्क संकलन गरी बैशाख र जेठ महिनामा उनीहरुलाई खोप लगाईएको कार्यालयका अधिकृत जयराम दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्ण खोप नलागएका २७ वालबालिकालाई अभियानका क्रममा खोप लगाईएको थियो । योसँगै १५ महिना भित्रको उमेरमा लगाउनु पर्ने खोप लगाएका बालबालिका बाँकी नरहेकाले जिल्लाका सातै पालिकालाई पूर्ण खोप घोषणा गर्न जिल्ला खोप समन्वय समितिको बैठकले निर्णय गरेको छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले १५ महिना भित्र १३ प्रकारका खोप लगाईएकाले असार मसान्त भित्र सबै पालिकालाई पूर्ण खोप घोषणा गर्न अनुमति दिएको हो । बैठकले साउन पहिलो साता जिल्लालाई पूर्ण खोप घोषणा गर्ने निर्णय समेत गरेको दुवाडीले जानकारी दिनुभयो । बालबालिकालाई दिने खोप अभियान नियमित जारी रहने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “हरेक वर्ष जिल्लामा रहेका १५ महिनासम्मका बालबालिकाको खोपको पूर्णता पाएसँगै खोपयुक्त जिल्ला घोषणा गरिंदै आइएको छ ।” यस वर्ष जिल्लामा रहेका बिभिन्न स्वास्थ्य संस्थामा १२ हजार ५३१ नवजात शिशुले जन्म लिएको उहाँले जानकारी दिनुभयो । ती शिशु मध्ये जिल्ला बाहिरबाट आएर जन्मिएका शिशुहरु आफ्नै जिल्लामा गएर खोप लगाउने हुँदा पूर्ण खोप लगाउने शिशुको संख्या कम हुने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !