सनद अधिकारी
चितवन, ९ असारः यहाँका युवाहरुले आयुर्वेद चिकित्साप्रति चासो देखाएका छन् । बागमती प्रदेश सरकार अन्तर्गतक रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगर चितवनले पहिलोपटक गरेको सार्वजनिक सुनुवाई तथा पत्रकार भेटघाट कार्यक्रममा युवाहरुले यसप्रति चासो देखाएका हुन् ।
कार्यक्रममा विद्यार्थी तथा टिनएजर्स कोलाब्रेसन संस्थामा आवद्घ रत्ननगर चितवनका अरविन्द कुमार यादवले आयुर्वेद अस्पतालहरुले अन्य समाजिक संस्थाहरुसँग समन्वय गरेर जानपर्ने औल्याउनुभयो । उहाँले समुदायमा यसको सेवा दिँदा  कसरी समन्यय गरी सेवा दिनुभएको भन्ने प्रश्न राख्न्ुभएको थियो ।   युवा तथा विद्यार्थीहरुको हितको लागि आयुर्वेद चिकित्सालयले युवा केन्द्रित कार्यक्रमहरु ल्याउनुपर्ने भन्दै यादवले युवा तथा विद्यार्थीहरु समक्ष यसकोे सकारात्मक पक्षहरुसँगै फाइदाको बारेमा अवगत गराउनुपर्ने भनाई राख्नुभयो ।
चितवनमा पत्रकारीता गर्दै आउनुभएका सन्त कुमार चौधरीले आयुर्वेद चिकित्सालयहरु र यसको सेवा पछिल्लो समय स्थानीय तहहरुमा समेत पुग्ने क्रममा रहेको सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो ।  सो अवसरमा उहाँले आयुर्वेद औषधीहरुको निर्माण र  कच्चापदार्थहरुको बारेमा उहाँले जिज्ञासा राख्नुभयो । आयुर्वेद चिकित्सा समुदाय केन्द्रित रहेको र यसको व्यवस्थापन गर्दा स्थानीय तहरुसँग समन्वय गर्न आवश्यक भएको चौधरीले औल्याउनुभयो  । हाल समाजका तनाव व्यवस्थतापनको विषय धेरै उठ्ने गरेको  र  आयुर्वेद चिकित्साले यसको निराकरण गर्नेहुँदा यसलाई प्रभावकारी ढंगसँग सबैको सामु र पहुँचमा युर्याइनुपर्ने चौधरीले धारणा राख्नु भयो ।
रत्ननगरकै  युवा तथा विद्यार्थी अर्चना गुप्ताले हाल विद्यालय स्तरका  किशोर किशोरीहरुमा आत्महत्या सम्म गर्न सक्ने मानसिक स्वास्थ्यको समस्या बिकराल रहेको उल्लेख गर्नुभयो । उहाँले यसको निराकरणमा आयुर्वेदको महत्वपूर्ण भूमिका रहने  भन्दै आयुर्वेद सेवाबाट कसरी  यसलाई समेटेर लैजान सकिन्छ भन्ने प्रश्न राख्नुभएको थियो । भविष्यमा स्वस्थ्व समाज निर्माणका लागि योजनाका साथ आयुर्वेद चिकित्सालय लाग्नुपर्ने उहाँको भनाई थियो ।
चिकित्सालयका प्रमुख डा कोपिला अधिकारीले आयुर्वेद चिकित्सा पद्धतिका बारेमा प्रचार प्रसार कम हुने गरेको र यसलाई धेरै सेवाग्राही समक्ष पुर्याउनुपर्ने बताउनुभयो ।   उहाँले भन्नुभयो, “यसको सूचना सम्प्रेषणमा हामी अलि बढी संवेदनशील हुन आवश्यक छ । धेरै भन्दा धेरै सेवाग्राहीसँग यसको सूचना पुगोस भनेर योजनाका साथ हामी अघि बढ्नेछौं ।”
उहाँले चिकित्सालयमा  जनशक्ति व्यवस्थापनको चुनौती रहेको भन्दै सेवाको  गुणस्तर बढाउनका लागि दक्ष जनशक्ति व्यवस्था हुनु आवश्यकता रहेको बताउनुभयो । उहाँले विभिन्न अन्तक्र्रिया कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, स्वास्थ्य जीवन प्रवद्र्धन कार्यक्रम, उच्च पदस्थ कर्मचारीहरुको तनाव व्यवस्थापन कार्यक्रम, होमस्टे, होटल तथा रिसोर्टका सञ्चालकहरुलाई योग तथा पूर्वकर्मसम्बन्धी अभिमुखीकरण, प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण कार्यक्रम, राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती, राष्ट्रिय अन्तर्राष्ट्रिय योग दिवस, स्वर्णविन्दु प्राशन कार्यक्रम चालु आर्थिक वर्षमा सञ्चालन गरिसकेको उल्लेख गर्नुभयो । आगामी वर्षहरुमा पनि समुदाय स्तरमा विभिन्न कार्यक्रम गरिँदै जाने उहाँको भनाई थियो ।
डा अधिकारीले चिकित्सालय र मातहतका तीन सेवा केन्द्रबाट चालु आर्थिक वर्षको ११ महिनामा ५९ हजार आठ सय २९  जनालाई सेवा दिएको बताउनुभयो । उहाँले निकट भविष्यमा नै २५ शैयाको अस्पताल सञ्चालनको तयारी गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !