
चितवनः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादबले स्वास्थ्य क्षेत्रमा रहेका बेथितिहरु रोक्न आफु लागि परेको बताउनुभएको छ । भरतपुर अस्पतालको आज यहाँ निरिक्षण अनुगमन पछि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आँफु मन्त्रालयमा रहेको बेथिति रोक्नका लागि काम सुरु गरेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो “कुनै अस्पतालमा बिशेषज्ञ नै बिशेषज्ञ चिकित्सक तर गाउँमा चिकित्सक छैन । त्यसलाई रोक्न लागेको छु ।” बिशेषज्ञ चिकित्सकलाई सरुवा गर्न थाल्यो की कसै न कसैको दबाब आइहाल्ने भन्दै उहाँले कसैको दबाबमा नपरि आँफुले काम गर्ने उहाँको भनाई थियो । कसैको दबाबमा नपरि सेवामा लाग्ने उहाँले चिकत्सिकहरुलाइ आग्ह गर्नुभयो । स्वास्थ्य क्षेत्रमा इमान्दार रुपमा चाहने हो भने सुधार गर्न सकिने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “म स्वास्थ्य क्षेत्रमा सुधार चाहान्छु । त्यसैले आज अनुगमनमा आएको हुँ ।” भरतपुर अस्पतालबाट दिईएको सेवा प्रति आँफु सन्तुष्ट भएको भन्दै उहाँले अस्पताललाई एमबिबिएस पढाई तत्काल सुरु गर्न समेत निर्देशन दिनुभयो । सुरुवाती समयमा भाडामानै लिएर भए पनि कक्षा संञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।
अस्पतालको नाममा रहेको जग्गा फिर्ताका लागि मन्त्रालयको काम सुरु गरिसकेको बताउँदै उहाँले कामले पूर्णता नपाउँदा सम्म भाडामानै लिएर भए पनि कक्षा संञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “अहिले जग्गा फिर्ताका लागि अध्ययन सुरु भईसकेको छ । पुराना सम्झौताहरु अध्ययन गर्ने क्रममा रहेको छ । जग्गा फिर्ता गर्न म लाग्ने छु ।”
सो अबसरमा बोल्दै प्रतिनिधि सभा सदस्य हरि ढकालले अस्पतालको बकिासका लागि आँफुले आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्ने बताउनुभयो । स्वास्थ्य मन्त्रालयका सचिब हरि प्रसाद मैनालीले अस्पतालको समस्या समाधान गर्नका लागि मन्त्रालय तयार रहेको बताउनुभयो । अन्य जिल्लाका सरकारी अस्पताल हेर्दा र भरतपुर अस्पताल हेर्दा आँफु निकै खुशी भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा अस्पताल बिकास समितिका अध्यक्ष राजु पौडेलले अस्पतालमा आबश्यक सामाग्री र यहाँको परिस्थितिका बारेमा बोल्नुभएको थियो । संघिय अस्पतालको रुपमा यो अस्पतालको बिकास भए पनि सो अनुसार कर्मचारीहरुको अभाव हुँदा निकै समस्या हुने गरेको उहाँले बताउनुभयो । भरतपुर अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालको अहिलेको अबस्था र यसलाई बिकास कसरी गर्ने भन्ने बिषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । बजेटको अभावले गर्दा अस्पताको बिकासमा प्रभावकारी रुपमा काम गर्न नसकीएको उहाँको भनाई थियो ।