चितवनः जिल्लाका ३१ हजार बढी बालबालिकालाई पोलियो विरुद्धको आईपिभि खोप लगाईएको छ । यही जेठ १३ गतेदेखि २२ गतेसम्म अभियानका रुपमा सञ्चालित खोप कार्यक्रममा ३१ हजार २२१ जनाले खोप लगाएका हुन् ।
जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले ३६ हजार ७०४ जनालाई लगाउने लक्ष्य राखिएकोमा ८५ प्रतिशत सफलता मिलेको बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिकाका १९ हजार २९४ मध्ये १६ हजार २९८, कालिका नगरपालिकाका २ हजार ३१३ मध्ये २ हजार २१३, खैरहनी नगरपालिकाका ३ हजार २५१ मध्ये १ हजार ९१३ जना बालबालिकालाई खोप लगाईएको छ ।
यसैगरी माडी नगरपालिकाका २ हजार १२९ मध्ये १ हजार ६५२, रत्ननगर नगरपालिकाका ४ हजार ३६९ मध्ये ४ हजार १०३, राप्ती नगरपालिकाका ३ हजार ८५३ मध्ये ३ हजार ९६ र ईच्छाकामना गाउँपालिकाका १ हजार ४७४ मध्ये ९४६ जना बालबालिकालाई खोप लगाईएको केसीले जानकारी दिनुभयो । अभियानका क्रममा विद्यालयमा खोप केन्द्र सञ्चालन गरिएको थियो । विद्यालय बाहिर रहेका १८९ जनालाई पनि खोप लगाईएको छ । अभियानमाा ४१२ जना स्वास्थ्यकर्मी र ७३१ स्वयंसेवक परिचालन गरिएको थियो ।
वि.सं २०७३ साल बैशाखदेखि वि.सं. २०७५ साल आसोज महिनासम्म जन्मिएका बालबालिकाहरुलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।






