चितवनः यहाँको संघीय भरतपुर अस्पतालमा एमआरआई मेसिन आएको छ । तीन साताभित्र जडान गरी सञ्चालन गर्ने तयारी गरिएको हो ।

अस्पतालका रेडियोलोजी विभाग प्रमुख डा. केशव पौडेलका अनुसार जर्मनीमा बनेको सिमेन्स कम्पनीको मेसिन ल्याईएको हो । थ्रि टेस्ला ६४ च्यानलको यो उपकरण आधुनिक भएको भन्दै उहाँले मुटु, नसा लगायतको परीक्षणमा प्रभावकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो “अत्याधुनिक भएकाले सबै खालका परीक्षण हामीले गर्न सक्छौं ।” दैनिक २० वटासम्म परीक्षण गर्न सकिने उहाँको भनाई छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीका अनुसार सबै सामग्री आईसकेकाले यथासक्य छिटो सञ्चालनमा ल्याईने छ । झण्डै १८ महिना पहिला सम्झौता गरेर अहिले सामान आईपुगेको हो ।
रु.३० करोड लागतमा उपकरण भित्र्याईएको हो । भरतपुर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू छ । अहिले एमआरआई नहुँदा बिरामी रिफर गर्नुपर्ने बाध्यता रहेको छ । उहाँका अनुसार अब बीमा र अन्य बिरामीले अस्पतालमै सेवा पाउने भएका छन् । निजीको तुलनामा सस्तोमा एमआरआई हुने उहाँले जानकारी दिनुभयो ।

अस्पतालमा दैनिक २ हजारभन्दा बढी बिरामी आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस !