
काठमाडौं । वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अष्ट्रेलियाबाट माफी मागेका छन् । कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको बचाउमा बोलेकोप्रति महजोडीले अष्ट्रेलियाबाटै क्षमायाचना गरेका हुन् । उनीहरूले त्यहीँबाट भिडिओ सन्देश जारी गर्दै दर्शकसँग माफी मागेका हुन् ।
हरिवंशले थपेका छन्, ‘अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए हुन्थ्यो । हामीबाट त्रुटि भयो । आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं ।’
सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले महजोडीसँग प्रतिक्रिया लिएको थियो । त्यसमा उनीहरूले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै उनको निर्दोषिताको वकालत गरेका थिए । उनीहरूको अभिव्यक्ति निकै विवादमा परिरहेको थियो । जसको कारण उनीहरूको अष्ट्रेलियाको कार्यक्रम पनि प्रभावित भएको थियो । उनीहरूको शोमा आउन टिकट काटेका धेरैले धमाधम टिकट रद्द गरिरहेका छन् । यसबाट दबाबमा परेपछि महजोडीले मुख खोलेका हुन् ।