नारायणगढ । नारायणी नदीकिनारमा हुन लागेको नारायणी एक्स्पोमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनले सहआयोजकको रुपमा सघाउने भएको छ । आइतबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गरेर अन्तिम चरणमा आएर नेफिन चितवनलाई सहआयोजकको भूमिकामा समेटिएको आयोजक संस्था रेड रक इभेन्टका संस्थापक अध्यक्ष विकल क्षेत्रीले जानकारी दिए ।

यही पुस ३० गतेदेखि साउन १५ गतेसम्म सञ्चालन हुने एक्स्पोमा आदिवासी जनजाति समुदायको उपस्थिति गराउनका लागि पनि नेफिन चितवनलाई समेटेर लैजाने प्रयास गरिएको उनले बताए । ‘विभिन्न चरणमा छलफल गर्दै जाँदा अन्तिम अवस्थामा भए पनि जनजाति महासंघको साथ पाएका छौँ’, उनले भने, ‘दुई संस्था मिलेर कार्यक्रम गर्दा थप सहज हुने देखिन्छ ।’

एक्स्पोमा समुदायलाई जोडेर काम गर्न पाउँदा दुवै संस्थालाई फाइदा हुने देखिएको नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका अध्यक्ष सागर कुमालले जानकारी दिए । आदिवासी जनजाति समुदायको संस्कृति संरक्षण र संवद्र्धनमा महोत्सवले टेवा पुग्ने देखिएपछि सहआयोजकको रुपमा जिम्मेवारी लिने सहमति भएको उनले बताए ।

एक्स्पोमा २०८२ मा उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा प्रविधिसँग सम्बन्धित विभिन्न क्षेत्रका स्टलहरु रहने छन् । स्थानीय उत्पादनको प्रवद्र्धन, घरेलु तथा साना उद्योगको विकास, लगानी प्रवद्र्धन र आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो ।

गीत, सङ्गीतसँगै एक्स्पो बालबालिकाका लागि मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, कृषि प्रदर्शनी, औद्योगिक प्रदर्शनी तथा व्यापारिक भेटघाटका कार्यक्रमहरु सञ्चालन गरिने छन् । एक्स्पोले स्थानीय उद्यमी, व्यवसायी तथा कृषकहरुलाई आफ्नो उत्पादन तथा सेवाको बजार विस्तार गर्न सहयोग पु¥याउने विश्वास लिएको छ ।

एक्स्पोमार्फत रोजगारी सिर्जना, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधि विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !