नारायणगढ :

यही पुस ३० गतेदेखि माघ १४ गतेसम्म सञ्चालन हुने नारायणी एक्सपो २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। रेड रक इभेन्ट एण्ड म्यानेजमेन्ट प्रालि, भरतपुर–चितवनद्वारा आयोजित एक्सपोको करिब ८० प्रतिशत तयारी पूरा भइसकेको र पुस २८ गतेभित्र सम्पूर्ण तयारी सम्पन्न हुने आयोजकले जनाएको छ।
२०० भन्दा बढी व्यावसायिक, औद्योगिक, कृषि, पर्यटन तथा सेवामूलक स्टलहरू रहने एक्सपोमा स्वदेशी उत्पादन, स्थानीय उद्यम र साना तथा मझौला व्यवसायलाई विशेष प्राथमिकता दिइएको छ। एक्सपोले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
यस वर्षको नारायणी एक्सपोको प्रमुख आकर्षणका रूपमा विश्वप्रसिद्ध सहरहरूको थिम–सेटअप प्रस्तुत गरिँदैछ। लन्डन सिटी (ब्रिजसहित), पेरिस सिटी (एफिल टावरसहित), स्ट्याचु अफ लिबर्टी तथा काश्मिर भ्यालीजस्ता आकर्षक संरचनाले दर्शकलाई एउटै स्थानमा अन्तर्राष्ट्रिय अनुभव दिलाउने आयोजकको दाबी छ। यी सेटअपहरू फोटो, भिडियो तथा सामाजिक सञ्जाल सामग्रीका लागि विशेष आकर्षण बन्नेछन्।
सार्वजनिक बिदा तथा चाडपर्वको समयलाई लक्षित गर्दै एक्सपो परिसरमा व्यवस्थित रेस्टुरेन्ट तथा स्ट्यान्डर्ड फुड कोर्टको व्यवस्था गरिएको छ। नेपाली, भारतीय, चिनियाँ, कोरियन फ्युजनसहित विभिन्न अन्तर्राष्ट्रिय परिकारहरू उपलब्ध हुनेछन्। साथै, हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहनेछ।
एक्सपो स्थलमा सुरक्षित वातावरण, व्यवस्थित पार्किङ, बालमैत्री क्षेत्र, स्वच्छता तथा सुरक्षा व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ। एक्सपोलाई चितवनसहित छिमेकी जिल्लाका करिब १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
एक्सपो अवलोकनका लागि टिकट दर रु १००, विद्यार्थीका लागि रु ७० तथा अपाङ्ग व्यक्तिका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !