चितवनः जिल्लाका केरा किसानहरुले बजार र मूल्य दुबै पाउँदा उत्साहित भएका छन् । सरकारले क्वारेन्टाइनमा कडाई गरेपछि भारतबाट केरा आउन कम भए पछि यहाँको उत्पादनले बजार र मूल्य दुबै पाएको हो ।
चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतो गत वर्षहरुमा बिक्री हुन कठिन हुने केराहरुले अहिले बजार पाउन थालेको बताउनुहुन्छ । उहाँका अनुसार गत वर्षहरुमा जीनाईन (हरियो केरा) बिक्री नभएर चराले खाने अवस्था आएको थियो भने चिनीचम्पाले बजार पाए पनि मूल्य राम्रो पाउन कठिन भएको थियो । अहिले जीनाईन केराको एउटा कोसाको रु ३ का दरले बिक्री हुँदै आएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गएको दशै, तिहार लगायतका चार्ड पर्वमा जीनाइन केरा बिक्री नहुँदा किसान विस्थापित हुने अवस्थामा पुगेका थिए ।
अहिले चिनीचम्पा केराले समेत राम्रो मूल्य पाएको उहाँले जानकारी दिनुभयो । यो केरा अहिले घरीको रु ६०० मा बिक्री हुने गरेको उहाँले बताउनुभयो । महतोका अनुसार अहिले बजार र मूल्य दुबै पाउँदा केरा उत्पादक किसान उत्साहित भएका छन् ।
नेपाल केरा उत्पादक महासंघका संयोजक बिष्णुहरी पन्त सरकारले जैवीक खाद्य सुरक्षामा कडाई गर्दा आयातित केरा रोकिएको छ । जसका कारण नेपाली उत्पादनले बजार पाउन थलेको हो । उहाँले भन्नुभयो “नेपालमा टिआर फोर नामक रोग केरामा देखिए पछि क्वारेन्टाइनले कडाई गर्न थालेको छ ।” गत मंसिर २ गतेदेखि आयातित केरामा क्वारेन्टाईमा कडाई गर्न थालिएको उहाँले बताउनुभयो ।
क्वारेन्टाईनले जैविक खाद्य सुरक्षामा कडाई नगर्दा गएको दशैं र तिहारमा मात्रै नेपालमा केरा उत्पादन गर्ने किसानले रु ६० करोड बराबरको नोक्सानी बेहोर्नु परेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अहिले केरा उत्पादन गर्ने किसानमा उत्साहा बढेको छ । यही अवस्था रहेमा एक वर्ष भित्र केरामा नेपाल आत्मनिर्भर बन्छ ।” जैवीक खाद्य सुरक्षामा कडाई गरेपछि विस्थापित हुने अवस्थाबाट किसान थपिने अवस्थामा आएको उहाँले बताउनुभयो ।
नेपालमा उत्पादित केराले बजार पाउँदै गर्दा उपभोक्तामा भने चर्को मूल्य तिर्न बाध्य परेको गुनासो आएको बताउँदै उहाँले यस बिषयमा सरोकारवालाहरुले अनुगमन गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो “मध्यस्तकर्ताबाट उपभोक्ता ठगिएको सूचना पाएका छांै । यसलाई अनुगमन जरुरी छ ।”
राष्ट्रिय कृषि आधुनिकिकरण कार्यान्वयन कार्यक्रम कार्यान्वयन एकाईका प्रमुख महेश रेग्मी अहिले जिल्लामा उत्पादित केराले बजार र मूल्य नपाउने समस्या हटेको बताउनुभयो । उहाँका अनुसार हाल जिल्लामा २ हजार हेक्टर क्षेत्रफलमा केरा खेती गरिदैं आईएको छ । जसबाट बार्षिक ७० हजार मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ । राज्यले क्वारेन्टाइनमा जैवीक खाद्य सुरक्षालाई निरन्तर कडाई गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न लागी परेको उहाँले बताउनुभयो । यहाँ उत्पादित केरा चितवन सहित काठमाडौ, पोखरा, भैरहवा लगायतका मुख्य सहरहरुमा जाने गरेको छ ।






