
चितवनः जिल्लामा पहिलो पटक शल्यक्रिया बिना मुटुको प्वाल टालिएको छ । चितवन मेडिकल कलेज (सिएमसी) मा ४० वर्षिया महिलाको मुटुको प्वाल टालिएको हो ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुलीकी ती महिलाको शल्यक्रिया बिना मुटुको प्वाल टालिएको हो । अस्पतालका मुटुरोग विशेष प्रा.डा.श्यामराज रेग्मी नेतृत्वको टोलीले रगत बग्ने ठूलो नसाबाट जाली मुटुसम्म पु¥याएर प्वाल टालेको हो । अहिले ती महिलाको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।
उपचार टोलीमा प्रा.डा.रेग्मीसँगै प्रा.डा.विष्णुमणि धिताल, प्रा.डा.अनिल आचार्य, प्रा.डा.भारतीदेवी शर्मा, क्याथल्याब ईन्चार्ज अमृत काफ्ले लगायत नर्सहरु सहभागी हुनुहुन्थ्यो । रेग्मीले ती महिलामा जन्मजात मुटुमा हुने प्वाल रहेको भन्दै समयमै ईकोकार्डियोग्राफी गरेर नहेरेका कारण अहिलेसम्म रहेको बताउनुभयो । उहाँले भन्नुभयो “परीक्षण नगर्ने हो भने कहिलेकाहीं बुढाबुढी उमेरसम्म पनि मुटुको प्वाल रहन सक्छ ।”
धेरैजसो यस्ता प्वालहरुलाई छाती चिरेर वाईपास सर्जरी जस्तो ओपनहर्ट सर्जरी गरेर टाल्नुपर्ने बताउँदै प्रा.डा. रेग्मीले भन्नुभयो “अहिले नयाँ प्रविधिको विकाससँगै यस्ता खालका प्वालहरु शल्यक्रिया नगरिकन (डिभाईस क्लोजर मार्फत्) तारको माध्यमबाट टाल्न मिल्छ । त्यही प्रविधिबाट चितवन मेडिकल कलेजमा मुटुको प्वाल टाल्ने काम गरियो ।” बिरामीको मुटुको दाहिने कोठा सुनिएको, भारी काम गर्दा श्वास फेर्न गाह्रो हुने लगायतका लक्ष्यण लिएर अस्पताल आएको उहाँले जानकारी दिनुभयो ।
मुटुमा यस्ता प्वालहरु आमाको गर्भमै हुने बताउँदै प्रा.डा.रेग्मीले भन्नुभयो “प्रायः यस्ता प्वालहरु जन्मिने वित्तिकै बच्चाले लामो श्वास फेर्दा बन्द हुने हो । पूरा विकास नभएर ‘डिभलपमेन्टल डिफेक्ट’ हो यो ।” उहाँले भन्नुभयो “ग्यास्ट्रिक भए होला, दम भए होला, कहिलेकाहीं मनोवैज्ञानिक तवरबाट, स्टेसले होला भनेर राम्रोसँग ख्याल गर्दैनौं । ख्याल नगरेका कारण अहिलेसम्म पनि मुटुको प्वाल रहेको हो ।”
प्वाल नटाल्ने हो भने फोक्सोको चाप बढ्ने, फोक्सोमा चाहिनेभन्दा बढी रगत पुग्ने जस्ता समस्या आउने उहाँको भनाई छ । चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले चितवनमा शल्यक्रिया नगरी मुटुको प्वाल टालेको पहिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो “यस्ता समस्या लिएर राजधानी काठमाण्डौं धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।” राजधानी काठमाण्डौं र भारतसम्म उपचारका लागि पुग्नु पर्ने बाध्यताको अन्त्यका लागि अत्याधुनिक उपकरण सहित दक्ष चिकित्सकको व्यवस्था आफूहरुले गरेको उहाँले बताउनुभयो । राजधानीका ठूला अस्पतालमा लामो अनुभव लिएका चिकित्सकहरु यही उपलब्ध भएकाले क्यान्सरदेखि सबै खालका रोगको उच्च स्तरको उपचार गर्न सकिएको देवकोटाले बताउनुभयो ।