चितवनः गर्मी अत्याधिक बढेपछि जिल्लाका अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाईट, डेंगु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् ।
यहाँको सरकारी भरतपुर अस्पतालमा विगतमा आईतबारदेखि मंगलबारसम्म २ हजार हाराहारी र बुधबारदेखि शुक्रबारसम्म १ हजार ६ सय हाराहारी हुने बिरामी अहिले दैनिक २ हजारदेखि २ हजार २ सम्म पुग्ने गरेका छन् । अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार बिगत एक सातादेखि बिरामीको चाप बढ्न थालेको हो । मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “अस्पतालमा आउने बिरामीको चाप व्यवस्थापन गर्न कठिन हुने स्थित आउन थाल्यो ।” अन्य समयको तुलनामा यो समयमा बिरामीको चाप सामान्य बढ्ने भए पनि अहिले संख्यात्मक रुपमा केही बढी देखिन थालेको छ । लामो समयसम्म वर्षात नहँुदा बिभिन्न किसिमका बिरामीको चाप बढेको छ । अस्पतालमा आउने बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले आइतबारबाट टिकट काउन्टर थप गर्न लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “बिरामीको चाप व्यवस्थापन गर्न टिकट काउन्टर दुईवटा थप्ने योजनामा अस्पताल रहेको छ ।”
नियमित अस्पताल आउने बाहेक अहिले भाईरल ज्वरो, टाइफाईट, डेंगु, मलेरीया, झडापखाला लगायतका बढी मात्रामा छन् । उनीहरुलाई लक्षित गर्दै अस्पतालले नियमित चेकजाँचका लागि आउने बिरामीको टिकट काउण्टर थप गर्न लागेको हो । बहिरंग सेवामा आउने बिरामीको संख्या बढ्दो क्रममा छ । गत माघदेखिको तथ्थ्याङ्क हेर्ने हो भने अस्पतालको बहिरंग सेवामा उपचारका लागि आउने बिरामीको चाप बढ्दो क्रममा रहेको छ । माघमा ३२ हजार, फागुनमा ३४ हजार ५ सय, चैतमा ३६ हजार २ सय र वैशाख २० गतेसम्म २४ हजार ८ सय बिरामीले सेवा लिएका छन् ।
अहिले जिल्लाको तापक्रम ४० डिग्री हाराहारीमा रहेका छन् । उहाँले आम सर्वसाधारणलाई नियमित झोलिलो पदार्थ सेवन गर्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “अहिलेको समयमा पानी, झोलिलो पदार्थ नियमित सेवन गरौं ।” सामान्य समस्या देखिए चिकित्सकको परामर्शमा आउन समेत उहाँले आग्रह गर्नुभयो ।
अहिले अस्पतालले ३ वर्ष मुनीका र जेष्ठ नागरिकहरुका लागि समेत छुट्टै काउन्टर स्थापना गरेको छ । योसँगै नियमित औषधि सेवन गर्ने बिरामीहरुका लागि अस्पतालमा परार्मश कक्षको स्थापना गरी चिकित्सकले परामर्श समेत दिदै आएको उहाँले बताउनुभयो ।
चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले पछिल्ला दिनमा बिरामीको संख्या बढ्दै गएको बताउनुभयो । उहाँले चैतमा भन्दा वैशाख लागेसँगै बिरामीको संख्या बढ्दै गएको बताउनुभयो । गर्मी बढ्दै जाँदा बिरामीको संख्या अझै बढ्न सक्ने भन्दै उहाँले सर्वसाधारणलाई सचेतता अपनाउन आग्रह गर्नुभयो ।






