चितवन: जिल्लामा रहेका अस्पतालमा उपचारका लागि आएका बिरामीहरुलाई रगतको समस्या देखिएको भन्दै नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाले रक्तदान गर्न अपिल गरेको छ । शाखाले एक बिज्ञप्ति जारी गर्दै अस्पतालमा आएका बिरामीहरुलाई रगत पु¥याउन कठिन स्थिति भएको भन्दै रक्तदाता, सामाजिक संघ संस्था तथा सरोकारवाला सबैलाई रक्तदान गरि सहयोग गर्न अपिल गरेको हो ।
शाखाका सभापति हरिप्रसाद पौडेलका अनुसार गर्मी बढे संगै जिल्लाका अस्पतालहरु आउने बिरामीको चाप पनि वढ्दै गएको र माग अनुसार रगत पु¥याउन सक्ने अबस्था छैन । उहाँले भन्नुभयो “गर्मीका कारण रगतको माग वढेको छ तर जिल्लामा रगत प्रयाप्त मात्रामा छैन ।” यहाँ रहेको भरतपुर अस्पताल, बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल, दुईवटा ठूला मेडीकल कलेज र दुई दर्जन भन्दा बढि नीजि अस्पतालहरुमा उपचारका लागि आउने बिरामीहरुलाई रगतको अभाव भए संगै रेडक्रसले रक्तदान गर्न अपिल गरेको हो । पौडेलका अनुसार गर्मी बढेसंगै रक्तदानका कार्यक्रमहरु कम हुनु, बिरामीको चाप वढ्नु लगाएतका कारणले रगतको अभाव भएको हो ।
प्रादेशीक रक्तसंञ्चार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार जिल्लामा रगतको अभाव भए संगै अहिले बाहिरी जिल्लाका रक्त संञ्चार केन्द्रबाट रगत मगाउनु पर्ने बाध्यता रहेको छ । उहाँले भन्नुभयो “आज मात्रै पोखराबाट ४ सय पोका रगत ल्याउँदै छौ । एक महिना अघि मात्रै एक हजार पोका रगत ल्याईएको थियो ।” यहाँ रहेका संघ संस्था र रक्तदाताहरुले गर्मीका कारण रक्तदान नगर्नु र बिद्यालयहरुमा कक्षा १२ को परिक्षा सञ्चालन हुनुले समेत रगतको समस्या देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “रगत अभावका कारण बिरामी र तीनका आफन्तहरुलाई रक्तदाता खोज्न आग्रह गर्ने गरेका छौ ।”
यस केन्द्रले चितवन सहित छिमेकी जिल्लाहरु तनहुँ, नवलपरासी, मकवानपुर, बारा, पर्सा, रौतहट, थोरखा, लम्जुङ्ग लगाएतका १२ जिल्लाबाट रगत संकलन गरेर ल्याउने गर्दछ ।






