चितवनः नेपाल नेत्रज्योती संघ चितवनले दाताको सहयोगमा तीन तले सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको छ । भरतपुर आँखा अस्पताल हाताभित्र २५ हजार ५ सय स्वायर फिटको भवन निर्माण गरेको हो ।
भवन निर्माण समितिका संयोजक एवं संघका पूर्व सभापति चिजकुमार मास्केले दिनुभएको जानकारी अनुसार रु २० करोड १५ लाख २२ हजार लागत लाग्ने अनुमान गरी निर्माण थलिएको भवन रु १३ करोड ५० लाखमा निर्माण सम्पन्न भएको हो । उहाँका अनुसार नबनिर्मित भवनको पहिलो तल्लामा बाल आँखारोग बहिरंग बिभाग, दोस्रो तल्लामा अन्तरंग बिभाग र तेस्रो तल्लामा चारवटा मोडुलर शल्यक्रिया कक्ष रहेका छन् ।
वि. सं. २०७८ साल फागुनमा निर्माण सुरु गरिएको सो भवनको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । स्वदेशी तथा बिदेशी दातृ संस्था, प्रदेश सरकार, भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा भवन निर्माण भएको हो । भवन निर्माणका लागि बिभिन्न दाताहरुको सहयोग रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “भवन निर्माणका लागि रु ८ करोड ५० लाख ७३ हजार ५५७ चन्दादाता, दातृ संस्थाहरुबाट प्राप्त भएको हो ।” अपुग रकम अस्पतालले खर्च गरेको उहाँले बताउनुभयो ।
नेपाल नेत्रज्योती संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालका तीन वटा शाखा अस्पताल, १८ वटा प्राथमिक आँखा उपचार केन्द्र रहेका छन् । ती शाखा, केन्द्र र मुख्य अस्पतालबाट गरी दैनिक ८ सय हाराहारी बिरामीले सेवा लिदै आएके संघका जिल्ला सभापति जयराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष ३ लाख भन्दा बढि बिरामीले सेवा लिने गरेका छन् । जस मध्ये १० हजार भन्दा बढी शल्यक्रिया हुने गरेको छ । अस्पतालले ठोरीबाट भारतीय बिरामीलाई समेत सेवा दिंदै आएको छ ।
यस अस्पतालले बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका ८ वटा जिल्लामा सेवा पु¥याउँदै आएको छ । बि. सं. २०४४ साल चैत १८ गते स्थापना भई सेवा सुरु गरेको भरतपुर आँखा अस्पतालले अहिले उपचारात्मक, अनुसन्धानात्मक र प्रतिरोधात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “भवन निर्माणसँगै सेवालाई अझै प्रभावकारी रुपमा अघि वढाउने योजनामा रहेका छौं ।”
अस्पतालमा आँखा सम्बन्धी स्नातकोत्तरसम्मका पढाई समेत हुँदै आएका छन् ।





