चितवनः वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शैयाको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार युनिट निर्माणका लागि सर्वेको काम सकिएको छ । सर्वेको काम सकेर चीन सरकारलाई पठाईएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ड्राफ्ट पठाई सकेका छौं । अब परियोजना अघि वढ्छ ।”
रु ११ करोडको लागतमा युनिट निर्माण गर्न लागिएको हो । चिनिया प्राबिधिकहरुसँग यस विषयमा छलफल गरिएको उहाँले बताउनुभयो । क्यान्सरका कारण बोनम्यारो फेर्नु पर्ने बिरामीहलाई बिदेश जानबाट रोक्नका लागि यो काम गर्न लागिएको हो । बोनम्यारो फेर्नका लागि नेपालबाट मासिक १०÷१२ जना भारत जाने गरेको उहाँले बताउनुभयो । युनिट सञ्चालनमा आएपछि बिदेश जानुपर्ने बाध्यता हट्ने उहाँको बिश्वास छ । निर्माण सुरु गरेको दुई बर्षमा काम सम्पन्न गरेर सेवा सुरु गर्ने योजनामा अस्पताल रहेको छ ।
अस्पतालले जग्गा उपलव्ध गराएर चिनिया सरकारको लगानीमा निर्माण गरिने उहाँले बताउनुभयो । भवन निर्माणदेखि आवश्यक सम्पूर्ण उपकरण, दक्ष प्राबिधिक, प्राबिधिकलाई तालिम चीन सरकारले उपलव्ध गराउने गरी काम अघि बढाईएको पौडेलले बताउनुभयो । उच्च प्रबिधिको ट्रान्सप्लान्ट युनिट निर्माण गरी सेवा दिइने उहाँले जानकारी दिनुभयो ।





