चितवनः बागमती प्रदेश सरकारले “सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०” लाई स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले निर्देशिकालाई स्वीकृत गरेको हो ।
निर्देशिका स्वीकृत भएसँगै बागमती प्रदेशका प्रत्येक मन्त्रालयले गर्ने विकास निर्माण लगायतका सबै कामहरुमा मानव स्वास्थ्यलाई विशेष ख्याल राख्नुपर्ने छ । स्वास्थ्य मन्त्री उत्तम जोशीले ‘सबै नीतिमा स्वास्थ्य नीति’ लागू गर्ने योजनाले सार्थक रुप लिएको भन्दै प्रत्येक मन्त्रालयको नीति निर्माण गर्दा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
मानव स्वास्थ्य र रोगमा स्वास्थ्यका सामाजिक निर्धारकहरुको महत्वपूर्ण भूमिका हुने भन्दै उहाँले भन्नुभयो “मानव स्वास्थ्यलाई असर गर्न सक्ने स्वास्थ्यका सामाजिक निर्धारकहरु गैरस्वास्थ्य क्षेत्र र विषयहरुले प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने भएकाले यो नीति लिईएको हो ।”स्वास्थ्य क्षेत्र एक्लैको प्रयासबाट मात्र स्वास्थ्यका सामाजिक निर्धारकहरुलाई सम्बोधन गरी नागरिकलाई स्वस्थ र रोगमुक्त बनाउन कठिन भएकाले स्वास्थ्य सेवा प्रवाहमा बहुक्षेत्रीय तथा बहुपक्षीय समन्वय, सहकार्य, साझेदारी र सहभागितामा स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु, योजना, कार्यान्वयन र अनुगमन गर्न आवश्यक रहेको उहाँको भनाई छ ।
तत्कालिन समयमा निर्देशिका तयारीमा जुट्नु भएका हालका बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक तिवारीका अनुसार निर्देशिका स्वीकृत भएसँगै काम अघि बढ्ने बताउनुभयो । विश्व स्वास्थ्य संगठनले अघि सारेको यो योजना देशमै पहिलो पटक बागमती प्रदेशमा लागू गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “सबै क्षेत्रले स्वास्थ्यलाई केन्द्रमा राखेर नीति बनाउनु पर्छ भन्ने यो निर्देशिकाको मुख्य उद्देश्य हो ।” उहाँले उदाहरण दिंदै भन्नुभयो “कृषि उत्पादन गर्दा पोषणमा ध्यान दिनुपर्छ । विषादी, रासायनिक प्रयोग गर्नु हुँदैन । खानेपानीले स्वस्थ खानेपानी उपलब्ध गराउनु पर्छ । सडकका कारण दुर्घटना हुनु हुँदैन ।”
मुख्यमन्त्री र मन्त्रीहरुको उपस्थितिमा छलफलबाट प्रारम्भ भएको निर्देशिका तयार गर्ने कार्य सचिव स्तरमा, महाशाखा हुँदै सरोकारवालाहरुसँग छलफल गरेर तयार गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “बागमती प्रदेशका सबै जिल्ला समेटिने गरी सरोकारवालाहरुसँग यस सम्बन्धमा छलफल गरेका छौं ।”





