चितवनः जिल्लाका एक लाख ६१ हजार बालबालिकालाई दादुरा–रुबेला बिरुद्धको खोप लगाईने भएको छ । नौ महिना देखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय खोप केन्द्रबाट उनीहरुलाई खोप दिन लागिएको कार्यालयका क्षय–कुष्ठ अधिकृत जयराम दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानकै क्रममा नियमित खोप छुटेका ८ सय हाराहारी बालबालिकालाई छुट खोप दिइने छ । ९ महिना देखि पाँच वर्ष मुनीका ती बालबालिकालाई खोप छुट खोप समेत सञ्चालन हुने उहाँल बताउनुभयो । फागुन १३ गते देखि चैत १ गते सम्म सञ्चालन हुने उक्त अभियानमा १ हजार ६ सय जना स्वास्थ्यकर्मी र २ हजार २ सय स्वंयसेवक परिचालन गरिने छ ।

स्वास्थ्य कार्यालय चितवनले अभियानलाई दुई चरणमा बिभाजन गरेर सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपािलकामा १३ गते देखि २२ गते सम्म अभियान सञ्चालन हुने छ । अन्य राप्ती खैरहनी, रत्ननगर र कालिका नगरपालिकामा भने दोस्रो चरणमा फागुन २३ गते देखि चैत १ गते सम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । प्रत्येक दिन ६ घण्टा खोप सञ्चालन गरिने छ ।

जिल्लामा बि. सं. २०७९ मंसिर ३ गते देखि २०८० पुस १५ गते सम्म ५२ जनामा दादुरा रुवेला रोगको संक्रमण देखिएको छ । जिल्लामा भेटिएका ंक्रमित मध्ये अधिकांश इच्छाकामना गाउँपालिकाका रहेका रहेका छन् । केही संख्यामा राप्ती नगरपालिकामा समेत यो रोगको संक्रमण रहेको दुवाडीले वताउनुभयो । गर्भवती, एड्स संक्रमित, केमोथेरापी वा उच्च क्षमताको औषधि सेवन गरिरहेका र कडा खालको ज्वरो भएका बालबालिकालाई  यो खोप लगाउन मिल्दैन ।

२५० जनाभन्दा बढी बालबालिका भएका संस्थागत र सामुदायिक विद्यालयमा खोप केन्द्र रहने कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो ।  विद्यालय नभएका ठाउँहरुमा पनि खोप केन्द्र रहने छन् । यसैगरी शहरका घना बस्ती, सुकुम्बासी वस्ती, उद्योग, कारखाना, बाल मन्दिर, अनाथ आश्रम, ईटा भट्टा, अन्तरदेशिय सीमा, बसपार्क जस्ता ठाउँमा पनि खोप केन्द्र राखेर सेवा दिईने उहाँले जानकारी दिनुभयो  । खोप केन्द्र निर्धारण गर्दा गाउँपालिकाको प्रत्येक वडामा कम्तीमा एउटा, नगरपालिकाको प्रत्येक वडामा कम्तीमा दुई वटा, उपमहानगरपालिकाको प्रत्येक वडामा कम्तीमा तीन वटा र महानगरपालिकाका प्रत्येक वडामा कम्तीमा चार वटा खोप केन्द्र रहने व्यवस्था रहेको छ ।

अभियानको क्रममा नौ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला खोपका अतिरिक्त डिपिटि–हेप बी–हिव, पिसिभी र आईपिभि खोप समेत लगाईने छ ।  दादुरा रुबेला खोप अभियानको लक्ष्य लक्षित उमेरका बालबालिकालाई दादुरा रुबेला खोप लगाएर दादुरा र रुबेला रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिबृद्धि गरी ती रोगहरुबाट संक्रमण हुन सक्ने सम्भावनालाई न्यूनिकरण गर्ने रहेको उहाँको भनाई छ । पाँच वर्ष मुनिका बालबालिकाहरुको नियमित खोपको अवस्था पहिचान गरेर छुट भएका नियमित खोपको मात्रा लगाउन सहजीकरण गर्ने अभियानको उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस !