चितवनः बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले जुनसुकै काम गर्दा युवाहरुले सकारात्मक सोच लिएर अगाडी बढ्नपर्ने बताउनुभएको छ । शनिबार भरतपुरमा युवाहरु आवद्घ संस्था ब्लड डोनर्स सोसाईटी नेपालले आयोजना गरेको मेची–महाकाली रक्तदान सम्बन्धि उत्प्रेरणा अभियानको समापन र संस्थाको वार्षिकोत्सव कार्यक्रम समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री जोशीले युवाहरुले निरासाका कुरा नगरी सकारात्मक सोचको मात्र कुरा गरेर यही केही गरौं , सम्भव यही छ भन्ने मनमा लिएर काममा अगाडी बढ्दा सफल भइने बताउनुभयो ।
उहाँले हाल बजारका प्रत्येक सटरहरुमा बैदेशिक रोजगारीसँग सम्बन्धित कार्यालयहरु मात्रै रहेको अवस्थामा नेपालमै रोजगारीको वातावरण सृजना गर्ने खालको तयारीमा सरकार लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “बजारका प्रत्येक घरको कोठा र सटरमा बैदेशिक रोजगारमा जाने परामर्श केन्द्रहरु मात्रै खोलिएको छ तर त्यसलाई हामिले चिर्न पर्छ आजको आवश्यकता भनेको त्यही हो ।” नेपालमा धेरै कुराहरुको सम्भावना हुँदापनि धेरै युवाहरु विदेश पलायन भएको भन्दै अब वैदेशिक रोजगारीको नभई यही बस्ने परामर्श केन्द्रको आवश्यकता रहेको उहाँको भनाई थियो ।
उहाँले बागमती प्रदेश सरकारले धेरै अस्पतालहरुमा निः शुल्क रगतको व्यवस्था गरेको र रक्तदान कार्यक्रमलाई उत्प्रेरित गर्नका लागि प्रदेश सरकाले बजेट नियोजन गरेर कार्यक्रमहरु संचालन गर्नेे गरिएको पनि सो अवसरमा जानकारी दिनुभयो । भरतपुर महानगरपालिका वडा नम्बर १६ मा मुख्य कार्यलय रहेको संस्थाले गत पुष महिनादेखि मेची–महाकाली रक्तदान सम्बन्धि उत्प्रेरणा अभियान चलाएको थियो । जसको समापन आज गरिएको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेल, रक्तदान उत्प्रेरक धुब्र थपलिया, पूर्व सांसद बिजय सुवेदी, भरतपुर १६ का अध्यष्क्ष अमृत हमाललगायतले रक्तदानको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । सो अवसरमा नियमित रक्तदाता तथा रक्तदान उत्प्रेरकहरुलाई सम्मान गरिएको थियो । संस्थाको प्रथम अधिवेशनले पुनः अर्जुन अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !