चितवन: भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आउने बिरामीको पहिलो काम हुन्छ फाईल तयार गर्ने । नाम दर्ता गरेसँगै बिरामीको फाईल बन्छ र बिरामीलाई परिचयपत्र दिईन्छ । बिरामीका हरेक परीक्षणहरु त्यो फाईलमा थपिंदै जान्छन् । फाईलमा भएको इतिहास (हिस्ट्रि) हेरेर चिकित्सकले पटकैपिच्छे थप उपचारका लागि प्रक्रिया अघि बढाउँछन् ।
यो फाईल बिरामीले लैजान पाउँदैन । अस्पतालमै रहन्छ । अर्काे पटक आउँदा पहिला दर्ता गरेको परिचयपत्र हेरेर खोजिन्छ । यही फाईल अस्पतालबाटै गायब हुन्छ भन्दा अनौठो लाग्न सक्छ । यद्यपी यहाँ आउने बिरामीको सबैभन्दा ठूलो समस्या फाईल हराउने हो ।
क्यान्सरका बिरामी एक पटक आएर उपचार सम्भव छैन । पटकपटक अस्पताल आउने ती बिरामीको फाईल हराएपछि उपचार नै प्रभावित हुन्छ । आउने बिरामीलाई विभिन्न वहानामा दुःख दिएर निजी अस्पताल पठाउने खेल पनि योसँग जोडिने गरेको पीडितहरुको गुनासो छ ।
अस्पतालमा उपचारका लागि सासु लिएर आउनु भएकी सर्लाहीकी मञ्जु पौडेल अघिल्लो पटक उपचारका पछि छोडिएको फाइल खोज्दै अस्पताल भौतारिदैं हुनुहुन्थ्यो । उहाँले भन्नुभयो “एक महिना अघि उपचार गरेर फाइल यही छोडेर गईयो, अहिले भेट्नै सकिदैंन ।” “रेकड शाखामा गयो चिकित्सकको कार्यकक्षमा पुगेको छ भन्छन् यहाँ आयो उतै होला भन्छन्’ उहाँले दुखेसो पोख्नुभयो ।
७३ वर्षिया सासु राधिका कुरमारी सापकोटाको उपचारका लागि अस्पताल आईरहनु पर्ने र यहाँ फाईल नभेटिने समस्या सधै हुने गरेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “बिहान ५ बजे टोकन लिएर ७ वजे टिकट काटेर बिरामी लिएर आउँदा फाईल हराउँछ । कस्तो गैर जिम्मेवारपन हो यो ।”
अस्पतालले बिरामीको रेकड फाईल अस्पतालमानै सुरक्षित छोड्न भन्ने गरेको भन्दै उहाँले अब फाइल नभेटिए केको आधारमा उपचार सुरु गर्ने ? भन्दै गुनासो गर्नुभयो । पाठेघरको क्यान्सर भएर उपचारका लागि ल्याएको बताउँदै उहाँले यस्तो लापरवाहीले जनताले सास्ति पाउने गरेको बताउनुभयो ।
उहाँ मात्रै होईन कपिलबस्तुबाट उपचारका लागि आउनु भएकी ५८ वर्षिया सानीमाया कुँवर आफुले फाईल हराएपछि फोटोकपि गरेर राखेको कागजले उपचार गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “यस अघि आउँदा मेरो फाइल हरायो । मैले फोटोकपी गरेर राखेको थिएँ, त्यसैको आधारमा उपचार गराई रहेकी छु ।”
लामो समयदेखि पाठेघरको क्यान्सरको उपचार गराउन आउनु भएकी उहाँ फाइल हराउने र समयमा उपचार नपाउने यस अस्पतालको बिशेषता नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो “उपचारका लागि टाढाबाट आउनु पर्छ । यहाँ आउँदा कहिले के भन्छन् कहिले के । हामीले निकै सास्ति पाउने गरेका छौं ।”
अस्पतालका कर्मचारीहरुको रुखो बोलीका कारण झनै समस्या बन्ने गरेको उहाँले सुनाउनुभयो । अस्पतलामा उपचार राम्रो भए पनि केमु लगाउनु पर्ने बिरामीले पालो कुर्नुपर्ने, केमु अस्पतालमा नपाएर बाहिरबाट किन्नु पर्ने जस्ता समस्या हुने गरेको उहाँले गुनासो गर्नुभयो । सक्कल रिपोट कार्ड हराउँदा उपचारमा समस्या हुने गरेको उहाँले बताउनुभयो ।
तनहुँबाट उपचारका लागि अस्पताल आउनु भएकी जमुना न्यौपाने अस्पतालका कर्मचारीको व्यवहारका कारण बिरामीले दुःख पाउने गरेको बताउनुभयो । उपचारका लागि आए ५ देखि ७ दिनसम्म रोकिनु पर्ने उहाँको गुनासो छ । पाँच वर्षदेखि जिव्राको क्यान्सरको उपचार गराउँदै आउनु भएकी उहाँ अस्पतालमा छोडिएको फाइल हराउनु, समयमा उपचार नपाउनु जस्ता समस्याले सास्ती व्यहोर्नु परेको बताउनुहुन्छ ।
अस्पतालका उपनिर्देशक डा.उमेश नेपाल बिरामीको फाईल हराउने गुनासो आएको स्वीकार्नुहुन्छ । विभागमा डाक्टरहरुकोमा गएको कतिपय फाईल कर्मचारीले रेकर्ड शाखामा नबुझाउँदा समस्या हुने गरेको भन्दै उहाँले पूरै हराउने भन्ने नहुने दावी गर्नुभयो । उहाँले आन्तरिक फाईल राख्ने प्रणालीलाई चुस्त बनाउनु पर्ने अवस्था रहेको बताउनुभयो । यसलाई सुधार्ने उहाँको भनाई छ ।
अस्पतालमा नेपालभरिका, भारत र बंगलादेशबाट समेत क्यान्सरका बिरामी उपचारका लागि आउने गर्दछन् । एशियाको नमूना अस्पतालको रुपमा बनाईएको यस अस्पतालमा पछिल्ला वर्षहरुमा प्रशासनिक प्रणालीमा कमजोरी हुँदै जाँदा बिरामीले समयमा उपचार नपाउने, निजी अस्पताल र क्लिनिकमा जान बाध्य पार्ने जस्ता समस्या भोग्नु परेको छ ।





