चितवनः जिल्लामा दुई जनालाई कोरोना सङ्क्रमण पुष्टी भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ निबासी २९ वर्षिय पुरुषमा र वडा नम्बर १० का ६६ बर्षिय बृद्धमा कोरोना सङ्क्रमण देखिएको हो ।
भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार २९ बर्षिय पुरुष सामान्य रुघा, खोकी र ज्वरो आएर उपचारका लागि आएका उनको आइतबार नमुना परिक्षण गरिएको थियो । संक्रमण पुष्टी भए संगै उनी होम आइसुलेसनमा रहेको उहाँले बताउनुभयो । यस्तै वडा नम्बर १० का बृद्धामा आज कोरोना सङ्क्रमण पुष्टी भएको हो । निमोनियाका कारण उपचारका लागि अस्पताल आएका बृद्धको कोरोना परिक्षणका क्रममा सङ्क्रमण पुष्टी भएको हो । उनलाई अस्पतालमा राखेर उपचार गरिएको छ ।
जिल्लामा १० महिना पछि पुनः कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा बि. सं. २०७९ साल चैत महिनाबाट कोरोनाको सङ्क्रमण शून्य थियो । अहिले दखिए संगै स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउनका लागि अनुरोध गरेको छ । ढकालका अनुसार सामाजिक दुरी कायम गर्ने, माक्सको प्रयोग गर्ने, साबन पानीले हात धुने गर्दा कोरोनाबाट बच्न सकिने भएकाले सबैलाई सतर्कता अपनाउन अनुरोध गरिएको हो ।





