चितवनः भरतपुर अस्पतालबाट बढीमा १० किलोमिटर टाढा जुटपानीका एक पक्षघातको बिरामी नौ महिनासम्म घरमै थलिए । पक्षघात भएका बिरामीले सरकारी भरतपुर अस्पतालमा रु.१ लाखसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा आर्थिक अभावमा घरमै थलिनु प¥यो । ती बिरामी मात्रै होइन, अरु धेरै पक्षघातका बिरामीहरु धेरै खर्च हुन्छ भन्ने डरले उपचार नै नगरी बस्ने गरेका छन् ।
कतिपय त्यस्ता बिरामी छुट हुने अस्पताल थाहा नपाउँदा महंगा अस्पतालमा उपचार गर्न बाध्य छन् । स्पाइनल उपचारमा विज्ञता हाँसिल गर्नुभएका भरतपुर अस्पतालका प्रा.डा.कृष्णप्रसाद पौडेल अस्पतालमा रु.१ लाखसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा बिरामी समयमा नआउने गरेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो “सामान्य अवस्थाका पक्षघातका बिरामीलाई रु.एक लाखले सबै खर्च पुग्ने गर्दछ ।” धेरै सामग्रीहरु प्रयोग गर्नुपर्ने बिरामीलाई रकम थप लाग्ने भएपनि सामान्य अवस्थामा सबैलाई यही खर्चले धान्ने गर्दछ । पौडेलले थप्नुभयो “पक्षघात भएर कोही पनि घर नबसोस् भन्नका लागि यो सन्देश प्रवाह गर्नु आवश्यक छ ।”
भरतपुर अस्पतालमा बि.सं. २०६९ सालदेखि नै छुट्टै युनिट बनाएर पक्षघातको उपचार हुँदै आएको छ । अहिलेसम्म ३७ वटा जिल्लाबाट आएर यस अस्पतालको स्पाइनल इन्जुरी युनिटबाट उपचार गराइ सकेको उहाँले जानकारी दिनुभयो ।
अस्पतालमा २० शैया पक्षघातका लागि छुट्याईएको छ । रोटरीको सहयोगमा नयाँ भवन बन्दैछ । भवन सम्पन्न हुँदै गर्दा ५० शैयाको पक्षघात युनिट हुनेछ । अहिले अस्पतालमा सातामा कम्तीमा एउटा शल्यक्रिया हुने गरेको छ । कुनै हप्ता दुई वटासम्म हुने गरेको पौडेलको भनाई छ ।
सबै अस्पतालहरुमा पुनस्र्थापना केन्द्र नहुने भएकाले बिरामीको रोजाई भरतपुर अस्पताल पर्ने गर्दछ । उहाँले भन्नुभयो “भरतपुर अस्पतालमै यसको पूर्ण रुपमा उपचार गर्न सक्छौं । राज्यले पनि पक्षघात (स्पाइनल कर्ड इन्जुरी) लाई कडा रोगको सूचीमा राखेर एकलाख रुपैयाँसम्मको उपचार निःशुल्क दिएएको छ ।”
स्पाइनल कर्ड इन्जुरीपछि पुनस्र्थापना महत्वपूर्ण हुने उहाँ बताउनुहुन्छ । पुनस्र्थापना केन्द्रमा दैनिक जीवनयापनका क्रीयाकलापहरु÷सीपहरु केन्द्रमा सिकाइन्छ ।
यदि समयमै उपचारमा जान सकेको खण्डमा आंशिक रुपमा मात्र स्पाइनल कर्ड इन्जुरी भएको रहेछ भने पूर्ववत रुपमै फर्काउन सकिने सम्भावना हुने उहाँको भनाई छ । पूर्ण रुपमा स्पाइनल कर्ड इन्जुरी भएको अवस्थामा शल्यक्रिया प्रश्चात ह्विलचेयरको साहारामा हिडडुल गर्न अवस्थामा फर्काउन सकिन्छ । कैयौँ मानिसले ह्विलचेयरमै हिडेर पनि आफ्नो जीवन निर्वाह गरिरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस !