चितवनः भरतपुर अस्पतालमा बच्चा जन्माउनका लागि थप पाँच वटा ‘बर्थिङ स्वीट्स रुम’ थपिएका छन् । प्राकृतिक रुपमा बच्चालाई जन्मदिने सुविधासम्पन्न बर्थिङ युनिट थप गरिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.श्रीराम तिवारीका अनुसार रु. एक करोड लागतमा नयाँ युनिट निर्माण गरिएको हो । हाल रहेको प्रसुती भवनको नजिकै नयाँ युनिट थप गरिएको छ ।

प्रसुतीका लागि अस्पताल आएका तर कुनै खालको स्वास्थ्य जटिलता नभएका गर्भवती महिलाहरुलाई उक्त स्वीट्स रुममा राखिने छ । स्वीट्स रुममा पति वा नजिकको अभिभावक सँगै रहने व्यवस्था गरिएको छ । प्रसुतीको समयमा अधिक पीडा हुने र उक्त समयमा अभिभावक साथमा रहँदा पीडा कम हुने विकसित मुलुकहरुको अभ्यासलाई यहाँ प्रयोगमा ल्याउन लागिएको डा। तिवारीले बताउनुभयो । अभिभावकसँगै प्रत्येक स्वीट रुममा एक जना नर्स रहने व्यवस्था गरिएको छ ।

डा। तिवारीले भन्नुभयो “यो गर्भवती महिलाले प्राकृतिक रुपमा बच्चालाई जन्मदिने ठाउँ हो ।” प्रसव पीडाको समयमा थप पीडा नहोस्, सहज होस् भन्नका लागि यो प्राकृतिक वातावरणको अवधारणा ल्याईएको बताउँदै डा। तिवारीले भन्नुभयो “प्रसव पीडा पति वा अभिभावकलाई बाँड्न नपाउँदा महिलालाई थप पीडा महसुस हुन्छ । पतिले पनि सँगसँगै सहयोग सहितको सान्त्वना दिन सकोस् भन्नका लागि यो युनिट निर्माण गरिएको हो ।”

उहाँका अनुसार प्रसुती सेवाका लागि भर्ना भएका गर्भवती महिलाहरुको सम्पूर्ण परीक्षण गरी निरन्तर चिकित्सक आवश्यक नपर्ने अवस्थामा मात्रै स्वीट रुपममा लगिने छ । स्वीट रुममा प्रसुती हुँदा आवश्यक पर्ने सम्पूर्ण सामान पहिले नै तयारी अवस्थामा रहने छन् । सुविधासम्पन्न र आधुनिक भएका कारण स्वास्थ्यका दृष्टिकोणले पनि यो अति महत्वपूर्ण हुने डा। तिवारीले बताउनुभयो । आमालाई पनि सहज हुने गरी सुविधा दिईएको डा। तिवारीको भनाई छ ।

विगतमा बच्चाको मुटुको चाल, आमाको स्वास्थ्यको अवस्था हेरेर तुरुन्त शल्यक्रिया गर्नुपर्ने अथवा भ्याकुम लगाउनु पर्ने अवस्था छुट्याएर सम्बन्धित ठाउँमा लैजाने गरिएको भन्दै उहाँले भन्नुभयो “नौ महिनासम्म गर्भ परीक्षण गर्दा सामान्य भएका र अस्पताल भर्ना हुँदा बच्चा र आमाको अवस्था सामान्य भएकाहरुलाई यहाँ ल्याउँछौं ।”

देशका ठूला अस्पतालमा यस्तो सुविधा लैजाने भन्ने नीति अनुरुप पहिलो पटक भरतपुर अस्पतालमा सेवा शुरु गरिएको उहाँको भनाई छ । अस्पतालमा प्रसुती सेवा लिनेको चाप बढी भएको भन्दै शैया संख्या बढाएर ६० पु¥याएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यसले पनि अझै पुग्न सकेको छैन । कतिपयले क्याबिनमा बस्न खोज्नु हुन्छ । त्यो पनि पर्याप्त छैन । प्रसुती सम्बन्धी छुट्टै भवन आवश्यक छ ।”

अस्पतालका स्त्री तथा प्रसुती विभागका प्रमुख प्रा।डा।सुनिलमणि पोखरेलका अनुसार गत वर्ष अस्पतालमा ११ हजार ८९८ जना शिशु जन्मिएका थिए । ती मध्ये ४० प्रतिशत हाराहारी शल्यक्रियाबाट बच्चा झिकिएको हो । पोखरेलका अनुसार दैनिक ३० देखि ४० जना गर्भवती महिला प्रसुती सेवाका लागि अस्पताल आउने गर्दछन् । उनीहरु चितवन सहित छिमेकी १० भन्दा बढी जिल्लाबाट आउने गर्दछन् । अस्पतालमा पोखरेलको नेतृत्वमा १३ जना विशेषज्ञ चिकित्सक र ३० जना तालिम प्राप्त नर्स कार्यरत छन् । उनीहरु २५ वर्षसम्म अनुभवी छन् । नयाँ बर्थिङ युनिटका लागि आठ जना नर्सलाई तालिम दिईएको छ । ती मध्ये दुई जना मिड वाईफरीमा स्नातक गरेका छन् भने ६ जनाले ‘स्किल बर्थिङ एटेन्डेन्स’ को तालिम लिएका नर्स छन् ।

अस्पतालमा नवजात शिशुका लागि १६ शैयाको शिशु सघन उपचार कक्ष रहेका छन् । चार शैयाको कङ्गारु कियर रहेको छ । प्रसुतीका लागि दुई वटा शल्यक्रिया कक्ष रहेका छन् । अस्पतालका ३९ वटा क्याबिन अधिकांशमा प्रसुती गराएकाहरुले भरिने गरेको छ । पोखरेलले बर्थिङ युनिट थप भएसँगै प्राकृतिक रुपमा घरकै वातावरणमा बच्चा जन्माउन सकिने बताउनुभयो । राजधानी बाहिर सबैभन्दा बढी प्रसुती सेवा दिने अस्पतालमा यो पर्दछ ।

प्रतिक्रिया दिनुहोस !