चितवनः चिकित्सा पेशासँग राजनीति गर्नुभएका डा.भोजराज अधिकारीले अस्पतालको पहुँचमा नभएका जनतालाई स्वास्थ्यसँग जोड्ने अभियान सञ्चालन गर्नुभएको छ । उहाँले गाउँगाउँमा पुगेर स्वास्थ्य शिविर मार्फत् जनतालाई उपचारको पहुँचमा ल्याउनु भएको हो ।
अस्पताल आउन नसक्ने, आर्थिक अभावले उपचार गर्न नसकेका, समयमा उपचार गर्नुपर्छ भन्ने ज्ञान नभएका जनतालाई घरगाउँमै पुगेर निःशुल्क स्वास्थ्य सेवा दिंदै आउनु भएको छ । जटिल समस्या भएकाहरुलाई अस्पतालसम्म ल्याएर उपचार पनि गर्नुभएको छ ।
गत निर्वाचनको समयमा चितवन क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बन्नु भएका डा. अधिकारीले ‘जनतासँग अस्पताल’ को नारा लिएर चुनावमा होमिनु भएको थियो । निर्वाचनमा पराजित भएपनि उहाँले पेशासँगै आफ्नो नारालाई साकार पार्न काम गरिरहनु भएको छ । उहाँले भन्नुभयो “म पराजित भएपनि जनतासँग गरेको बाचा पूरा गर्नुपर्छ भनेर लागिरहेको छु ।” भरतपुर महानगरपालिकाले आजबाट शुरु गरेको ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ को विज्ञको भूमिका डा. अधिकारी नै रहनु भएको छ । उहाँको भनाईमा महानगरभित्रका ६८ वर्षमाथिका २५ हजार बृद्धबृद्धा हुनुहुन्छ । उहाँहरुलाई घरमै पुगेर मधुमेह, उच्च रक्तचाप, तौल, मोटोपन जस्ता परीक्षण गरेर आवश्यक औषधि र सुझाव दिने कार्यक्रम छ ।
अधिकारीको भनाईमा विश्व स्वास्थ्य संगठनको आधारभूत स्वास्थ्य अन्तर्गत समुदायसँग स्वास्थ्य कार्यक्रम गरिएको हो । यो कार्यक्रमलाई प्रभावकारी बनाउन अधिकारी जुट्नु भएको छ । घरघरमा पुगेर स्वास्थ्य सेवा दिन कार्यक्रम प्रभावकारी हुने देखिएको छ । डा.अधिकारीकै नेतृत्वमा गएको मंसिर ९ गते ईच्छाकामना गाउँपालिका वडा नं. ७ भालुमारामा बृहत् स्वास्थ शिविरको आयोजना गरियो । उक्त शिविरमा ५ सय २१ जना स्थानियवासी लाभान्वित भएका थिए ।
माडीको हनुमानझुलामा बृहद एकीकृत स्वास्थ शिविर गरी ५ सय १४ जनालाई उहाँकै नेतृत्वमा सेवा दिईएको छ । उक्त शिविरमा ९ विद्याका चिकित्सकहरु र स्वास्थ्यकर्मीले विरामीको जाँच गरेका थिए । अधिकारीले भन्नुभयो “जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ अहिले विभिन्न स्थानमा शिविरमा सक्रिय छु ।”
भरतपुर अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष अधिकारीले लामो समय भरतपुर अस्पतालमा फिजिसियन चिकित्सकको रुपमा सेवा गर्नुभयो । यही क्रममा जिल्लामा परिचित चिकित्सकको रुपमा उहाँ परिचित हुनुहुन्छ । यससँगै उहाँको यात्रा राजनीतितर्फ मोडिएको हो । गत निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नं. ३ छाडेर गोरखा जाने भएसँगै यस क्षेत्रमा उपयुक्त उम्मेदवारको रुपमा अधिकारीलाई रोजिएको थियो । निर्वाचनका समयमा अध्यक्ष दाहालले अधिकारीलाई निर्वाचित गराएर स्वास्थ्य मन्त्री बनाउने संकेत गर्नुभएको थियो ।
माओवादी पार्टीको स्वास्थ्य विभागको सचिव रहनु भएका डा. अधिकारीले प्रचण्ड पत्नी स्व.सीता दाहाल बिरामी भएदेखि उहाँको स्वास्थ्य हेर्दै आउनु भएको थियो । राष्ट्रिय सभाको निर्वाचनको नजिक आईरहँदा डा. अधिकारीलाई राष्ट्रिय सभामा लगेर मन्त्री बनाउने चर्चा पुनः एक पटक चलेको छ । अधिकारी भन्नुहुन्छ “पार्टीले दिने जुनसुकै जिम्मेवारी पूरा गर्न तयार छु, यद्यपी मेरो पहिलो प्राथमिकता आम नागरिकको स्वास्थ्य उपचार हो ।”





