चितवनः भरतपुर महानगरपालिका भित्र कार्यरत स्वास्थ्य स्वयंसेवीकाहरुलाई आज सम्मान गरिएको छ । २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस २०८० को अबसरमा महानगर भित्र रहेका २०७ जना स्वयंसेवीकाहरुलाई नगद सहित सम्मान गरिएको हो ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले उहाँहरुलाई सम्मान गर्नुभएको हो । प्रदेश सरकारले प्रदेश भरीनै कार्यरत स्वास्थ्य स्वयंसेवीकाहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत महानगरका स्वयंसेवीकाहरुलाई सम्मान गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “स्वास्थ्य क्षेत्रको तल्लो तहका मेरुदण्डको रुपमा स्वयंसेवीका रहेका छन् ।” स्वास्थ्य सेवाको पहिलो आधार स्वयंसेवीकाले मात्रै पुरा गर्न सक्ने उहाँको भनाई थियो । समाजमा प्रयाप्त अस्पतालहरु नहुँदा स्थानीय स्वास्थ्यकर्मीको रुपमा सेवा पु¥याउँदै आएका स्वयंसेवीका स्वास्थ्य क्षेत्रको बिकासका लागि कोशेढुङ्गाको रुपमा रहेको उहाँले बताउनुभयो । सिमित स्रोत र साधनमा काम गर्दा पनि जनतालाई सेवा दिन नछोड्नु स्वयंसेवीकाको मुख्य धर्म रहेको उहाँले वताउनुभयो । उहाँले थप्नुभयो “स्वयंसेवीकाको दुःख सम्झेर हौसला प्रदान गर्नका लागि सम्मान गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कृष्ण प्रसाद सिलवाल र इश्वर सापकोटाले सेवा गर्दा आबश्यक सामाग्रीहरुको व्यवस्था राज्यले गर्नुपर्ने बताउनुभयो । काम गर्ने समयमा सुरक्षाका सामाग्री र आबश्यक तालिमको व्यवस्था गरिनुपर्ने उहाँहरुको भनई थियो । स्वयंसेवीकाहरुले उठाएको जायज मागलाई राज्यले सम्बेदनशिल भएर सम्बोधन गर्नुपर्ने उहाँहरुको तर्क थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले हरेक वर्ष ६० वर्ष नाघेका स्वयंसेवीकाहरुलाई नगद रु ५० हजार सहित सम्मान गर्ने गरेको बताउनुभयो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती, भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक बिकास महाशाखाका प्रमुख शान्ता कुमारी पौडेल, भरतपुर महानगरपालिका जनस्वास्थ्य प्रवद्धन शाखाका प्रमुख दिपक सुवेदी, स्वयंसेवीकाको तर्फबाट शुभद्रा श्रेष्ठ लगाएतले बोल्नुभएको थियो । प्रदेश सरकारले प्रदेश भरीका ११९ वटा स्थानिय तहहरुमा आज सबै स्वयंसेवीकाहरुलाई सम्मान गरेको छ । जिल्लामा ४६१ जना स्वयंसेवीकाहरुलाई सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस !