चितवन: सन् २०२३ को ११ महिनामा जिल्लामा ७८ जना एचआईभि सङ्क्रमित पुष्टि भएको छ । जस मध्ये ४० जना पुरुष, ३३ जना महिला, ३ जना तेस्रो लिङ्गी र २ जना बच्चा रहेका छन् । अस्पतालमा आएका बिरामी, समुदायमा गरिएको स्वास्थ्य शिबिर र पार्टनर परिक्षणका क्रममा उनीहरुलाई सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमण पुष्टि हुनेमा चितवनमा ३६ जना र बाहिरी जिल्लाका ४२ जना रहेका छन् । ३६ औं बिश्व एड्स दिवसको अबसरमा एड्स हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि यो तथ्याङ्क सार्वजनिक गरेको हो । ४२५ जनाको परिक्षणका क्रममा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।
सो क्रममा जिल्लामा अहिले सम्म २ हजार ३१९ जनामा एचआईभि सङ्क्रमण पुष्टि भएको छ । जस मध्ये १ हजार २१० जना पुरुष, ९२३ जना महिला, २४ जना तेस्रो लिङ्गीर १६२ जना बालबालिका रहेका छन् । फाउण्डेसनले जिल्लामा सन् २००७ देखि काम गर्दै आईरहेको कार्यक्रम संयोजक कृष्णहरी सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुवाती समयमा २५ जनाबाट फाउण्डेसन सुरु गरिएको थियो । अहिले फाउण्डेसनमा १ हजार १५५ जनाले एआरभि औषधि सेवन गर्दै आएका छन् । जस मध्ये ५५० जना पुरुष, ५४८ जना महिला, १८ जना तेस्रो लिङ्गी, ३९ जना बालबालिका रहेका छन् । नियमित औषधि सेवन गर्ने मध्ये ७८५ जना चितवनका रहेका छन् भने अन्य जिल्लाका ३७० जना रहेका छन् । जिल्लामा भरतपुर महानगरपालिकामा बढि मात्रामा सङ्क्रमित रहेका छन् । भरतपुर महानगरमा ४६५ जना सङ्क्रमित रहेका छन् भने अन्य पालिकामा ३२० जना रहेको उहाँले जानकारी दिनुभयो ।
सन् २०२३ मा ४६ जना बिरामी स्थानान्तरण भएका छन् भने सोही संख्यामा बिरामीले औषधि सेवन गर्न छाडेका छन् । औषधि सेवन गर्न छाडेका तर भेटघाट पछि पुनः औषधि नियमित सेवन गर्ने बिरामीको संख्या १७ जना रहेको छ । औषधि सुरु गरेका नयाँ बिरामीको संख्या १३९ जना रहेको छ । यस वर्ष १६ जना सङ्क्रमितको निधन भएको छ । जस मध्ये १० जना पुरुष र ६ जना महिला रहेका छन् । सङ्क्रमितलाई स्वास्थ्य परिक्षणका क्रममा १६८ जनाको क्षयरोग परिक्षण गरिएकोमा १४ जनामा पुष्टि भएको छ भने ३४८ जनामा योन रोग परिक्षण गरिएकोमा २६ जनामा पुष्टि भएको छ । यस्तै १८ जनाको पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएकोमा एक जनामा देखिएको उहाँले जानकारी दिनुभयो ।