चितवनः सबै तिर दसैंको टिका लगाई रहँदा यहाँको भरतपुर अस्पतालमा त्यसै दिन २० जना गर्भवती महिलाले वच्चा जन्माएका छन् । त्यसका लागि दसैं समेत नमनाएर दुई जना चिकित्सक सहित १० जनाको समुह आफ्नो पालोमा खटिएका थिए ।
अस्पतालको स्त्री तथा प्रसुती रोग बिभागका प्रमुख डा. सुनिलमणी पोख्रेलका अनुसार दसैंको टिकाका दिन पनि चिकित्सक, स्वास्थ्य कर्मी र सरसफाईकर्मीहरु निरन्तर काममा खटिएका थिए । उहाँको भनाईमा कात्तिक ७ गते २० जना गर्भवतीले शिशु जन्माएका छन् । यो टिकाको दिन हो । ती मध्ये ६ जनालाई शल्यक्रिया गरेर बच्चा झिकिएको हो भने अन्यको साधारण प्रसुती गराईएको हो । नवमीका दिन २० जनाले बच्चा जन्माएकोमा ८ जनाको शल्यक्रिया गरिएको हो । अष्टमीका दिन १७ जनाले शिशु जन्माएका थिए । ती मध्ये ४ जनाको शल्यक्रिया गरिएको हो । फुलपातीका दिन यो संख्या ३४ जना थियो । ती मध्ये ७ जनाको शल्यक्रिया गरिएको पोख्रेलले बताउनुभयो ।
पोख्रेलका अनुसार प्रसुती बिभागमा खटिएका चिकित्सक, नर्सिङ् स्टाफ, सरसफाई कर्मी लगाएतका कर्मचारीले चाडपर्ब नभनि निरन्तर काममा खटिएका थिए । काठमाडौंको थापाथली स्थित प्रसुती गृहपछि सबैभन्दा धेरै सुत्केरी सेवा यही अस्पतालमा लिने गरेका छन् । गत आर्थिक वर्षमा यो संख्या १२ हजार ७ सय थियो । चितवन सहित छिमेकी जिल्लाबाट यहाँ प्रसुती सेवाका लागि बिरामी आउने गर्दछन् । जिल्लामानै पनि अन्य अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी लगाएत सम्पन्न व्यक्तिहरुले समेत प्रसुती सेवाका लागि भरतपुर अस्पताललाई रोज्ने गरेको पोख्रेलको भनाई छ । यो बिभागमा १२ जना बिशेषज्ञ चिकित्सक, २५ जना नर्सिङ् स्टाफ सहितको अनुभबि समुह परिचालित छ । अस्पतालमा ३० वर्ष भन्दा लामो समय देखि प्रसुती गराउँदै आएका अनुभबि नर्सिङ् स्टाफ समेत रहेका छन् । अस्पतालमा अन्य समयमा दैनिक ५० जना हाराहारी शिशु जन्मने गर्दछन् । ती मध्ये ४० प्रतिशतको शल्यक्रिया गर्ने गरिन्छ ।
अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको चाप बढेका कारण हाल रहेको सात शल्यक्रिया कक्ष बढाएर १५ वटा बनाइएको छ । प्रसूतिका लागि अलग्गै शल्यक्रिया कक्ष छ । चौबिसै घण्टा शल्यक्रिया चलिरहेको हुन्छ । मेडीकल कलेज र केही अस्पतालले बाहेक अन्य अस्पतालहरुले नियमित प्रसुती सेवा नदिएकाले पनि भरतपुर अस्पतालमा चाप वढि भएको हो । अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्ण प्रसाद पौडेलले बहिरंग सेवा वाहेक अन्य सेवा समेत दसैंमा नियमित गरिएको बताउनुभयो । अस्पतालमा ६ घण्टा डायलासीस् सेवा रोकीएको भन्दै उहाँले अन्य सेवा सूचारु रहेको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा कार्यरत १ हजार ४५ चिकित्सक कर्मचारी मध्ये आधाले दसैंमा काम गरेका थिए । ती मध्ये सबैभन्दा बढि नर्सिङ् स्टाफले दसैंमा समेत काम गरेको उहाँले बताउनुभयो ।
अस्पतालमा कार्यरत ४ सय जना नर्स मध्ये ३ सय जनाले दसैंको बेलामा समेत काम गरेका छन् । त्यस्तै सरसफाई र सुरक्षा कर्मी १९५ जना मध्ये १३८ जनाले नियमित काम गरेका थिए । अस्पतालका २ सय जना चिकित्सक मध्ये १ सय जनाले काम गरेका थिए । दसैंको समयमा बहिरंग सेवा सञ्चालन नहुँदा अस्पताल आएका बिरामीले स्वास्थ्य बिमा मार्फत सेवा लिएका थिए । दसैंको टिकाको दिन अस्पतालमा कार्यरत बिमा कार्यक्रमका इन्चार्ज लिलाधर पौडेलका अनुसार स्वास्थ्य बिमा मार्फत आकस्मिक सेवा लिने सेवाग्राहीको संख्या उल्लेख्य रहेको छ । उहाँले भन्नुभयो “दसैंको टिकाको दिन पनि हामीले बिमा मार्फत आकस्मिक र अन्य सेवा सहजै उपलव्ध गरायौं ।”
यो संघिय अस्पताल हो । यहाँ ६ सय शैय्या संञ्चालनमा रहेको छ । संघिय अस्पताल भए पनि १५० शैय्या बराबरको जनशक्ति सरकारले उपलव्ध गराएको छ भने अन्य जनशक्ति बिकास समितिले व्यवस्थापन गर्दै आएको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार राजधानी वाहिर बहिरंग सेवामा सबैभन्दा धेरै बिरामी यहाँ उपचारका लागि आउने गर्दछन् । धेरै बिरामी आउँदा दैनीक झण्डै ३ हजार हाराहारी बिरामी यहाँ आउने गरेको उहाँले जानकारी दिनुभयो ।
पौडेलका अनुसार स्वास्थ्य बीमा कार्यक्रम र विशिष्टिकृत सेवाका कारण अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । गत आर्थिक वर्षमा ३ लाख ७ हजार १२१ जना बहिरंग सेवा लिएका थिए । ती मध्ये ३१ हजार १३७ जना भर्ना भएर उपचार गराएका पौडेलले जानकारी दिनुभयो । अस्पतालको शैय्या अकुपेन्सी ८१ प्रतिशत रहेको छ । बिमा कार्यक्रममा यो अस्पताल देशकै उत्कृष्ठ रहेको छ । गत वर्ष कुल बहिरंग सेवामा आएका ३ लाख ७ हजार १२१ मध्ये २ लाख २१ हजार ३३१ जना स्वास्थ्य बीमा गरेका बिरामीहरु थिए । अस्पताल आउनेमध्ये ७० प्रतिशतसम्म बिरामीहरु स्वास्थ्य बीमा गरेकाहरु हुने गरेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।





