चितवन : बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी प्रदेशभरीका उत्कृष्ट मन्त्रीको रुपमा सम्मानित हुनुभएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट कार्य गरेको भन्दै मन्त्री जोशीलाई सम्मान गरिएको हो । जोशीलाई मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस एवम् सेतो कोट दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्मान गर्नुभएको हो ।

मन्त्री जोशी गत जेठ ७ गते बागमती प्रदेशको स्वास्थ्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मन्त्री जोशीले आफ्नो कार्यकालमा प्रादेशिक अस्पतालहरुमा विपन्नलाई नि:शुल्क उपचारको निर्णय गर्नुभएको छ । यस्तै क्यान्सर तथा हृदयघातका बिरामीहरुलाई उपचारमा छुट दिने निर्णय समेत मन्त्री जोशीले गर्नुभएको थियो । प्रदेश भित्रका सहिद परिवार, जनयुद्धका घाइते, विपद्मा परेका तथा वन्यजन्तुको आक्रमणबाट घाइते तथा क र ख वर्गका अपांगहरुलाई पनि नि:शुल्क उपचार सेवाको निर्णय जोशीले गर्नुभएको छ ।

यस्तै उहाँले प्रादेशिक अस्पतालहरुलाई ६५ वर्ष माथिका तथा विपन्नलाई नि:शुल्क दन्त उपचार सेवा र प्यारालाइसिस भएकाहरुलाई प्रादेशिक आयुर्वेदिक अस्पतालमा नि:शुल्क थेरापीको व्यवस्था पनि गर्नुभएको छ । मन्त्री नियुक्त भएपछि नै जोशीले प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका आश्रममा आश्रित, अपाङ्ग, सिमान्तकृत तथा लोपउन्मुख जातीहरुको निःशुल्क बीमा, महिला स्वास्थ्य स्वंसेविकाहरुलाई ५० प्रतिशत अग्रिम भुक्तानी गरी बीमाको व्यवस्था पनि गर्नुभएको थियो । जोशीका यिनै कार्यहरुलाई मध्यनजर गर्दै प्रधानमन्त्री प्रचण्डले सम्मानित गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !