चितवनः जिल्लाको खैरहनी नगरपालिकाले गर्भवतीलाई विभिन्न परीक्षण सहित एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । खैरहनी नगरपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने गर्भवती महिलाले निश्चित किसिमको रक्त परीक्षण, भिडियो एक्सरे सेवा र अत्यावश्यक अवस्थामा एम्बुलेन्स सेवा निःशुल्क प्राप्त गर्ने भएका छन् ।

नगरपालिकाले उप–प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रम मार्फत यस्तो सुविधाको सुरुवात गरेको हो । नगर प्रमुख शशीकुमार खनियाले उप–प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रम मातृ तथा नवजात शिशु मृत्यु दरलाई घटाउन महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रमको सफलता र निरन्तरताको लागि कर्मचारी लगायत सरोकारवाला सबै पक्षको साथ, सहयोग र समन्वय आवश्यक हुने बताउँदै नगर उहाँले आमाहरूको स्वास्थ्य र सुरक्षामा यो सेवा कोशेढुंगा सावित हुने बताउनुभयो ।

नगर–उपप्रमुख कविता उप्रेतीले गर्भवती महिलाहरुको स्वास्थ्य र सुरक्षित मातृत्वका लागि नगरपालिकाले प्राथमिकताको साथ कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो । उहाँले गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रमलाई नगरपालिकाको वार्षिक कार्यक्रममा समेटेर कार्यान्वयनमा ल्याईएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले बजेटमा नै व्यवस्था गरेर कार्यक्रम अघि बढाईएको बताउनुभयो । उहाँले यस कार्यक्रमले मातृ शिशु मृत्युदर न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !