
चितवनः नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट प्रदान गरिने बीमा रकम समयमा भुक्तानी नहुँदा यहाँको अस्पताल संचालनमा समस्या भएको छ । नेपाल नेत्रज्योती संघ चितवनद्धारा सञ्चालित भरतपुर आँखा अस्पतालमा बीमाबाट उठ्न पर्ने करौडौं रकम भुत्तानी नहुँदा अस्पताल संचालनमा समस्या आएको हो ।
अस्पतालका वरिष्ठ प्रशासक दयाशङ्कर चौधरीले गत आर्थिक वर्षको रु. ५ करोड २७ लाख ५ हजार ७ सय रकम र यस आर्थिक वर्षको २ करोड १८ लाख ८६ हजार ६ सय ७५ रुपैया रकम भुक्तानी हुन बाँकी रहेको बताउनुभयो । उहाँले लामो समयदेखि बीमाबाट आउनुपर्ने रकम भुक्तानी नभएको र पटक–पटक रकम भुक्तानीका लागि परिपत्र गर्दा आउनुपर्ने रकमको निकै थोरै रकममात्र भुक्तानी भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ हालसालै रु. ५१ लाख ९१ हजार ३ सय ७३ मात्र रकम मात्रै निकासा भएको छ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको गरी रु. ७ करोड भन्दा बढी रकम अझै भुक्तानी पाउन बाँकी छ ।”
उहाँले लामो समयसम्म बीमाबाट पाउनुपर्ने पैसा नपाएपछि अस्पतालमा स्वास्थ्य सेवा दिन समस्या हुन थालेका बताउनुभयो । अस्पतालमा आँखा उपचार गर्न आउने बिरामीमध्ये ६० देखि ७० प्रतिशत बिरामी बीमा मार्फत आउने चौधरीको भनाई छ । अस्पतालबाट ओपिडी, अप्रेशन तथा भर्ना गरिएका बीमाका बिरामीको दैनिक ४ लाख रकम बराबरको बीमा सुविधा बिमीतहरुले लिने गरेको उहाँले बताउनुभयो ।
नेत्रज्योति संघ चितवनका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठले अस्पतालमा लामो समयदेखि बीमाको रकम भुक्तानीका नहुँदा अस्पताल संचालन र कर्मचारीको तलव भत्ता खुवाउन पनि समस्या हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमाबाट आउनपर्ने धेरै रकम बाँकी छ, दशैं आउन लागिसक्यो दशैंमा कर्मचारीहरुलाई तलबका अतिरिक्त दशैं भत्ता दिनुपर्ने हुन्छ । यसपालि तलब खुवाउन पनि समस्या होलाजस्तो छ ।”
उहाँले बीमाबाट झारा टार्ने रकम मात्र भुक्तानी भएको भन्दै अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवामा भने कुनै कमी आउन नदिएको बताउनुभयो । उहाँले थप्पनुभयो “आजसम्म जसोतसोे बीमा मार्फत आउने बिरामीहरुको उपचार गरिएकै छ । अबपनि भुक्तानी रोकिएमा बीमा मार्फत आएका बिरामीलाई सेवा दिन समस्या हुनसक्छ ।”