
चितवनः अल्जाइमर्स रोगले बिर्सने मात्रै नभएर कार्यक्षमतामा ह्रास ल्याउने विज्ञको भनाई छ । विश्वभर नै यो रोगका कारण धेरैले दुःख पाउँदै आएका छन् ।
भरतपुर अस्पतालका न्यूरोलोजिष्ट (स्नायुरोग विशेषज्ञ) डा.निरज गौतमले अल्जाइमर्स बिर्सने मात्रै समस्या नभएको बताउनुभयो । उहाँले भन्नुभयो “यसले हाम्रो मस्तिष्कको कार्यक्षमतामा समेत ह्रास ल्याउँछ ।” उहाँले भविष्यमा के गर्ने भनेर योजना बनाउने कुरा, आज के खान्छु ? कस्तो लुगा लगाउँछु ? जस्ता कुराहमा समेत असर पार्ने बताउनुभयो ।
आम नागरिकले यो रोगलाई बुढेसकालमा लाग्ने रोग र बिर्सने समस्याका रुपमा बुझ्ने गरेको भन्दै उहाँले थप्नुभयो “यो केही हदसम्म सही पनि हो, तर कतिपय समाजमा कतिपय मानिसहरुलाई सानै उमेरमा पनि यो समस्या आउने र धेरैजसो बिर्सने रोग अल्जाइमर्स मात्र नभएर थप अरु रोग पनि हुन सक्ने सम्भावना हुन्छ ।”
अल्जाइमर्सलाई बिर्सनेबाट सुरु भएको रोग मान्न सकिने बताउँदै उहाँले अन्तिम अवस्थामा पुगेपछि मस्तिष्कले गर्ने सम्पूर्ण कार्यदक्षतमामा ह्रास आएर हिड्नमा अप्ठ्यारो हुने, हातखुट्टा समेत नचल्ने जस्ता समस्या हुने बताउनुभयो ।
विश्वमा करिब पाँच करोड व्यक्ति अल्जाइमर्स रोगबाट पीडित रहेको उहाँको भनाई छ । सन् २०५० सम्म यो संख्या अहिलेको भन्दा तीन गुणासम्म बढ्न सक्ने अनुमान गरिएको उहाँ बताउनुहुन्छ । नेपालमा एकिन तथ्याङ्क उपलब्ध नभएतापनि करिब ८० हजारदेखि एकलाख २० हजारसम्म व्यक्तिलाई बिर्सने समस्या भएको गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “तीमध्ये एक नम्बर कारण अल्जाइमर्स नै रहेको छ ।”
अल्जाइमर्स पहिचान गर्न कठिन हुने भन्दै उहाँले भन्नुभयो “यसको लक्षण सुरु भएतापनि धेरै मानिसहरुले बुढ्यौलीपनकै समस्या भन्ने ठानेर त्यसलाई नजरअन्दाज गरेर बस्नुहुन्छ ।” आफ्नो दैनिक काम नै गर्न नसक्ने धेरै जटिल अवस्थामा पुगेपछि मात्र अल्जाइमर्स हो कि भनेर बिरामीलाई चिकित्सकहाँ लिएर आउने गरेको उहाँको अनुभव छ ।
जनमानसमा बुढ्यौलीपन र अल्जाइमर्सको बिर्सनेपन छुट्याउन कठिनाइ भएको कारणले गर्दा जटिल अवस्थामा मात्र बिरामीलाई चिकित्सक कहाँ ल्याउने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “धेरैजसो अल्जाइमर्स ६५ वर्ष कटेपछि नै हुन्छ । धेरै कम अल्जाइमर्स जसलाई हामी जेनेटिक अल्जाइमर्स पनि भन्छौं त्यो चाहिँ ६५ वर्ष उमेरभन्दा सानोमा पनि सुरु हुन्छ ।”
विश्वव्यापी संख्याले ६५ देखि ७५ वर्षको उमेरमा करिब एक हजार जना मानिस मध्ये ५ जनालाई अल्जाइमर्स हुने र यो संख्या ८५ वर्ष उमेर कटेकोमा भने एक हजार जनामध्ये ३७ देखि ४० जनामा हुने उहाँको भनाई छ । जसरी उमेर बढ्दै जान्छ त्यसैगरि अल्जामर्स देखिंदै जान्छ ।
उमेर बाहेक उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोलर, मोटोपना, शारीरिक व्यायाको अभाव जस्ता कारणले अल्जाइमर्स हुने डा. गौतम बताउनुहुन्छ । स्वस्थकर खानपान र सक्रिय जीवनयापन गर्नुपर्ने भन्दै उहाँले थप्नुभयो “चिल्लोपना, अत्याधिक मद्यपान र धुम्रपानले पनि अल्जाइमर्सलाई बढाउँछ ।”
अल्जाइमर्र्स आफैमा क्रमशः बढ्दै जाने रोग भएपनि यो एकदमै विस्तारै हुन्छ । डा. गौतमले भन्नुभयो “अल्जाइमर्र्स आफैबाट मृत्यु चाहि हुँदैन, हेरचाहा राम्रो भयो भने ज्यानको खतरा हुँदैन ।” बुढेसकालमा सबैलाई अल्जाइमर्र्स हुन्छ नै भन्ने नभएको भन्दै उहाँले बिर्सने समस्या बढ्दै गएपछि चिकित्सकको परामर्श लिनुपर्ने बताउनुभयो ।
अल्जाइमर्र्सको औषधि दिएर कत्तिको सुधार हुन्छ भनेर हेर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो “कसैलाई राम्रो फाईदा पनि हुन सक्छ, कसैलाई फाईदा गरेन भने औषधि रोक्नु पर्ने हुन सक्छ ।” बिरामीलाई घरपरिवारले राम्रो हेरचाहा गर्नुपर्ने उहाँको भनाई छ ।