चितवनः विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहोन वहादुर वस्नेतसंग अस्पतालमा हुने गरेका समस्याहरु राखेका छन् । उनीहरुले मंगलबार अस्पताल निरिक्षण गर्न पुग्नुभएका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडी भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन ।
मोरङ्गबाट उपचारका लागि यहाँ आउनु भएकी दिव्या तिमिल्सीनाले अस्पतालमा प्रयाप्त उपकरण नहुँदा उपचारका लागि बाहिर जानु पर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “सरकारी अस्पताल भनेर आउने तर उपचारका लागि बाहिर जानु पर्ने हो ।” पर्बतबाट श्रीमतीको उपचारका लागि आउनु भएका बलराम सुवेदीले अस्पतालका चिकित्सकले बिरामीलाई उपचारका लागि बाहिर पठाउने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “अस्पतालमा शैय्या खालि हुँदा पनि पालोमा राखिने गरेको छ। त्यस संगै समयमा उपचारका लागि नीजि अस्पताल पठाउने गरिएको छ ।” स्वास्थ्य बिमाबाट पाउने गरेको सेवा सुबिधा समेत अस्पतालबाट नपाएको उहाँले गुनासो गर्नुभयो । मन्त्री बस्नेत आएको जानकारी पाएर अस्पतालको प्रशासन भवन अगाडी जम्मा भएका बिरामीका आफन्तहरुले बिमाबाट अस्पतालको फार्मेसीमा पाउनु पर्ने औषधि समेत नपाएको गुनासो गरेका थिए । सुवेदीले थप्नुभयो “बिमाबाट सिटामोल समेत पाउन सकिएन मन्त्री ज्यू ।” बाहिरी जिल्लामा बिमाबाट भएको उपचार र पाएको औषधि यहाँ बाहिर किन्नुपरेको उहाँको गुनासो थियो ।
गुल्मिबाट बिरामी लिएर आउनु भएका कृष्णप्रसाद न्यौपानेको पनि गुनासो उस्तै थियो । सरकारले दिएको सेवा सुबिधा समेत अस्पतालबाट पाउन नसकेको भन्दै उहाँले मन्त्रीका सामु आक्रोश पोख्नुभयो । बिरामी र बिरामीका आफन्तहरुलाई अस्पतालका कर्मचारीहरुले हेयको दृष्ट्रिले हेर्ने गरेको गुनासो राख्दै उहाँले भन्नुभयो “कर्मचारीहरुले बिरामीका आफन्तलाई बुझ्ने भाषमा बुझाउने हो की झर्कने फर्कने हो ।”
सर्लाहीबाट उपचारका लागि आएकी एक महिलाले पैसाको अभावमा उपचार गर्न नसक्ने अबस्थामा आएको पिडा सुनाउनुभयो । उहाँले भन्नुभयो “गाउँलेको सहयोगमा उपचार गराई रहेकी छु । अब कति दुःख दिनु ।” गाउँबाट सहयोग गरिरहने दिदिले काठमाडौं जानुपर्ने भयो भन्नुभयो अब कसरी उपचार गर्ने उहाँको गुनासो थियो । अस्पतालमा बिजुलीको देखि खानेपानी, शौचालय सम्म र चमेना गृह सम्मको गुनासो मन्त्री वस्नेतलाई बिरामीका आफन्तले राखेका थिए ।
बिरामी र बिरामीका आफन्तहरुको गुनासो सुनिसकेपछि मन्त्री वस्नेतले अस्पतालमा आएका बिरामीहरु बाहिर पठाउन नपाउने र त्यस्तो गरेमा अस्पताल प्रशासन र चिकित्सकलाई कारवाही गरिने वताउनुभयो । उहाँले भन्नुभयो “यो भन्दा सेवा सुबिधा भएको अस्पताल कुन हुन सक्छ । यहाँबाट बिरामी बाहिर पठाउने काम बन्द हुनुपर्छ । बिरामी बाहिर पठाए कारवाहीको भागीदार वन्नु पर्ने छ।” अस्पताल प्रशासनलाई निर्देशन दिदैं उहाँले थप्नुभयो “अस्पताल आएका बिरामी को कहाँ कती रिफर भए के कारणले भए । मलाई मासिक बिबरण पठाउनुहोला ।” सरकारी अस्पतालमा आएको बिरामीलाई उपचारका लागि नीजिमा पठाउने छुट कसैलाई नभएको उहाँको भनाई थियो । उहाँले उदाहरण दिदै भन्नुभयो “कान्ती वाल अस्पतालमा चिकित्सकको लापरवाहीले बालकको मृत्युभयो । त्यसको सजाय सम्बन्धित चिकित्सकले पाउनेछन् । त्यसै गरी यहाँ पनि कारवाही हुन्छ ।” अस्पताल प्रशासनलाई निर्देशन दिदैं थप्नुभयो “सहजै हुने सुधार १५ दिन भित्र गर्नु र अन्यको प्रकृया अघि वढाउनु । बिरामीले दुःख पाउनु भएन ।” तीन महिना भित्र नतिजा दिने गरी काम गर्न उहाँले अस्पतालका चिकित्सक कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । उहाँले भन्नुभयो “नतिजा आउने गरी काम गर्नुस् । आबश्यक सहयोग म गर्छु ।”
हुँदा खाने वर्गको पहुँचमा स्वास्थ्य सेवा पु¥याउन आँफु लागि परेको बताउँदै उहाँले अहिले ८ सय भन्दा वढि चिकित्सकको काज सरुवा वदर गरी गाउँ पठाईएको जानकारी दिनुभयो । अहिले सरकारले ३ हजार ५२३ शैय्या निःशुल्क गरेको बताउँदै उहाँले यसलाई अझै प्रभावकारी रुपमा अघि वढाउने बताउनुभयो । पैसाको अभावमा उपचार गर्न नपाएको गुनासो गरेकी सर्लाहीकी महिलालाई मन्त्री वस्नेतले रु ५ हजार नगद सहयोग गर्दै निःशुल्क उपचारका लागि अस्पताल प्रशासनलाई निर्देशन समेत दिनुभयो ।
संगै रहनु भएका बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले भनसुनको आधारमा उपचार नभई सबैलाई एउटै तवरले व्यवहार गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । मानवियतासंग जोडीएको कुरामा खेलवाड गर्ने छुट कसैमा नभएको भन्दै उहाँले अस्पताललाई क्षती हुने गरि काम गर्न छुट कसैलाई छैन भन्नुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालमा अहिले दैनिक १ हजार ११५ जना सम्म बिरामी वहिरंग सेवामा आउने गरेको जानकारी दिनुभयो । जस मध्ये २२६ जना नयाँ र अन्य नियमीत चेकजाँचका लागि आउने गरेको उहाँले बताउनुभयो । अस्पतालमा अहिले ४५० शैय्या सञ्चालनमा रहेको बताउँदै उहाँले यहाँको सेवालाई अझै प्रभावकारी बनाउँदै लैजाने तर्फ प्रशासन लागि परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अस्पतालमा आएका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा यही दिने गरी हामीले काम अघि वढाएका छौ ।”
सो अवसरमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजय न्यौपानेले लामो समय देखि अस्पतालमा कार्यकारी निर्देशक नहुँदा झेल्नु परेको समस्या र त्यसबाट उत्पन्न बिभिन्न बाधाहरु बिस्तारै हल हुँदै गएको बताउनुभयो । अस्पतालमा कार्यकारी निर्देशक नियुक्तीमा भएको ढिलाईले औषधि खरिद देखि अन्य कामहरु रोकीएको भन्दै उहाँले अब यी कामहरु छिट्टै पुरा हुने बताउनुभयो । चार महिना रिक्त रहे पछि गत साता मात्रै अस्पतालले कार्यकारी निर्देशक पाएको हो ।

प्रतिक्रिया दिनुहोस !