चितवनः यहाँको चितवन मेडीकल कलेजमा उपचारका लागि आएकी एक महिलाको स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपािलका वडा नम्बर १७ की ४८ वर्षिया महिला रहेकी छन् ।
स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार चितवन मेडीकल कलेजमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । स्थानीय अस्पतालमा उपचारका क्रममा स्क्रब टाइफस पुष्टि भएकी ती महिला चितवन मेडीकल कलेजमा आईतबार उपचारका लागि आएकी थिइन । सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले बताउनुभयो ।
जिल्लामा उपचारका लागि आएका बिरामी मध्य चालु आर्थिक वर्षमा ६७ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । ६९५ जनाको परिक्षणका क्रममा उनीहरुमा स्क्रब टाईफस पुष्टि भएको उहाँले बताउनुभयो । संक्रमित मध्य २५ जना चितवनका रहेका छन् भने अन्य जिल्ला बाहिरका रहेको उहाँले जानकारी दिनुभयो । केसीका अनुसार गत आर्थिक वर्षमा ३ हजार ४८२ जनाको परिक्षणमा ५२८ जनामा स्क्रब टाइफस संक्रमण देखिएको हो ।
यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाईबाट मान्छेमा सर्दछ । माइटमा पाईने ओरेन्सिया सुसुगामुसी भन्ने जिवाणुबाट लाग्ने गर्दछ । झाडी, खेतवारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरानमा देखिने गर्दछ । केसीका अनुसार यो रोग मानिसबाट मानिसमा सर्दैन । यो रोग लागेमा उच्च ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, शरिरका मुख्य अंगकहरुले काम गर्न छाड्नु यो रोगका लक्ष्यणहरु हुन । समयमा उपचार नगराएमा श्वासस प्रश्वासमा समस्या आई बिरामी सिकिस्त हुने गर्दछन् ।
यो रोगबाट बाँच्नका लागि खेतवारीमा काम गर्दा वनजंगल वा झाडीमा जाँदा लामो कपडा लगाउने, घाँसवारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने वा वस्ने जस्ता कार्य गर्नुपर्ने उहाँले बतउनुभयो ।

प्रतिक्रिया दिनुहोस !