चितवनः भरतपुर अस्पतालमा आजदेखि फोनबाट परामर्श दिने सुविधा (टेलिमेडिसिन) शुरु भएको छ । अस्पतालमा दिउँसो १२ बजेबाट ३ बजेसम्म टेलिमेडिसिन सेवा लिन सकिने छ ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको ०५६–५९७००३ मा फोन गरेर रिङ्गटोन आएपछि २२२ मा डायल गरेर सेवा लिन सकिने छ । यो सेवा अन्तर्गत रोग र उपचार सम्बन्धी जानकारीका लागि स्वास्थ्यकर्मी र चिकित्सकहरुसँग परामर्श लिन सकिने उहाँले बताउनुभयो ।
अर्काे महिनाबाट भिडियो कलबाट समेत सेवा दिने योजना अस्पतालले बनाएको उहाँले जानकारी दिनुभयो । यो सेवा अन्तर्गत रोग, उपचार र अस्पतालबाट प्रदान गरिने सेवा सम्बन्धी परामर्श लिन सकिने उहाँको भनाई छ । सामान्य समस्या लिएर अस्पतालसम्म बिरामी आउन नपरोस् भन्नका लागि सेवा शुरु गरिएको पौडेलले बताउनुभयो । यसको प्रभावकारितालाई हेरेर सेवा विस्तार गरिने छ ।
अस्पतालले फोनबाटै औषधि सम्बन्धी जानकारी समेत दिन शुरु गरेको छ । पौडेलका अनुसार बिहान १० बजेबाट बेलुकी ५ बजेसम्म यो सेवा दिन शुरु गरिएको छ । उहाँका अनुसार औषधि सम्बन्धी साधारण परामर्शका लागि ९८०९१८१३०० वा ०५६–५९७००३ मा फोन गरी १६६ मा डायल गर्न सकिने छ । बिरामीहरुले औषधि सम्बन्धी जिज्ञासा वा जानकारी फोनबाट लिन पाउने भएपछि सानातिना समस्याका लागि अस्पताल धाउन नपर्ने उहाँले बताउनुभयो ।
अस्पतालका बरिष्ठ फिजिसियन डा.कालिदास अधिकारीका अनुसार घरमा बृद्धबृद्धा मात्रै भएका ठाउँमा औषधि सेवनमा समस्या आउने गरेको छ । जेष्ठ नागरिकहरुले एकै जनाले धेरैथरी औषधि खानुपर्ने र छुट्याउन नसक्दा कतिपय थप समस्या लिएर समेत अस्पताल आउने गरेको उहाँले बताउनुभयो । यो सेवाबाट पूरै समाधान नभएपनि केही हदसम्म सहयोग पुग्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो “परिवारमा जेष्ठ नागरिक मात्र हुँदा औषधि खुवाउने विषयमा जान्ने बुझ्ने मान्छेहरुले नियमित परामर्श दिन जरुरी छ ।” कतिपयले एउटै औषधि दुई पटक खाने, कुनै समय औषधि खान भुल्ने जस्ता समस्याले रोग बल्झने गरेको चिकित्सकहरु बताउँछन् ।
बरिष्ठ फिजिसियन महेन्द्र अग्रहरीले छोराछोरी विदेशमा रहेर बृद्ध बाबुआमा मात्रै यहाँ भएकाहरुमा औषधिको धेरै समस्या आउने गरेको बताउनुभयो । तोकिएको डोज अनुसार औषधि नखाँदा समस्या हुने गरेको उहाँको भनाई छ ।





