चितवन, २२ साउन । आँखा पाक्ने रोग फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको संख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाई हुने देखिएको हो ।
चितवन र आसपासका जिल्लामा आँखा उपचार सेवा दिंदै आएको यस अस्पताल अन्तर्गतका अस्पताल र केन्द्रमा आईतबार २ हजार ३५७ जनाले सेवा लिएका छन् । अस्पतालका बरिष्ठ प्रशासक दयाशंकर चौधरीका अनुसार अन्य समयमा १ हजार २०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गर्दथे ।
अस्पताल आएकाहरु मध्ये ६० प्रतिशतभन्दा बढी आँखा पाक्ने रोगका बिरामी रहेका छन् । आईतबार भरतपुरमा रहेको मुख्य अस्पतालमा ९७३, सेकेण्डरी आँखा अस्पताल ठोरीमा ६६ जना, कावासोतीमा १९३ जना र सिम्रनगढमा १०२ जनाले उपचार लिएका छन् ।
अस्पतालका १४ वटा आँखा उपचार केन्द्र रहेका छन् । जसमध्ये चिकुमार–बिष्णुकुमारी बहिरंग सेवा भरतपुर उकालोमा २३८ जना, पर्सामा १६३ जना, रत्ननगरमा १२८ जना, माडीमा ९६ जना, चनौलीमा ६५ जना, राप्तीमा ६१ जना र कुरिनटारमा २५ जनाले सेवा लिएका छन् ।
यसैगरी धादिङको बेनिघाटमा १६ जना, सल्यानटारमा १३ जना, नवलपरासीको मध्यविन्दुमा ४४ जना, हुप्सेकोटमाम ४० जना, सिन्धुलीको दूधौलीमा १७ जना, तनहुँको आँबु खैरहनीमा ६३ जना र सर्लाहीमा ५५ जनाले सेवा लिएका चौधरीले जानकारी दिनुभयो ।
बिरामी बढेसँगै औषधि समेत अभाव हुन थालेको छ । चौधरीले औषधि खरिद गर्ने ठाउँबाट माग अनुसारको औषधि आपूर्ति हुन नसकेको बताउनुभयो । अस्पतालले आफ्नो स्रोतसाधन र जनशक्तिलाई अधिकतम उपयोग गरेर सेवा दिंदै आएको उहाँले बताउनुभयो । हालसम्म चिकित्सक र स्वास्थ्यकर्मीमा रोग फैलिन ठूलो समस्या नदेखिएको उहाँको भनाई छ ।
अस्पतालका आँखा रोग विशेषज्ञ डा. कुमुदिनी सुवेदीले रोग लाग्नु भन्दा बच्नु नै उत्तम भएको भन्दै सरसफाई र सामाजिक दूरीमा ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँले समय समयमा हात धुन, हातले आँखा नछुन, संक्रमित बिरामीबाट टाढै रहन सुझाव दिनुभयो । उहाँले चिकित्सकको परामर्शपछि मात्रै औषधिको प्रयोग गर्नुपर्ने बताउनुभयो । आफूखुशी औषधि किनेर प्रयोग नगर्न उहाँको सुझाव छ ।
संघका सभापति जयराम श्रेष्ठले मुख्य अस्पताल, तीन वटा सेकेण्डरी आँखा अस्पताल र १४ वटा आँखा उपचार केन्द्रमा बिरामीलाई सकेसम्म सहज रुपमा उपचारको व्यवस्था मिलाईएको बताउनुभयो । सबै बिरामीलाई एकै पटक भन्दा फरक फरक समयमा आएमा उपचार सहज हुने उहाँको भनाई छ । अस्पताल आसपासका बिरामीहरु दिउँसो २ बजेपछिको समयमा अस्पताल आउँदा भिड कम हुने उहाँको भनाई छ । सबैलाई सजगता अपनाउन उहाँले अपिल गर्नुभयो ।
नेपाल नेत्रज्योति संघ चितवनका सचिव केशव अधिकारीले औषधि आपूर्ति गर्न सम्झौता गरेका कम्पनीहरुलाई आवश्यकता अनुसार औषधि उपलब्ध गराउन नसके सम्झौता खारेज गरिने भन्दै आपूर्तिका लागि लाग्न आग्रह गरिएको बताउनुभयो । चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई अत्यावश्यक बाहेक विदा दिन रोकिएको छ । अन्य बिरामीहरु फरक ठाउँमा सजगताका साथ उपचार गराईएको उहाँले बताउनुभयो । जिल्लाका पालिकाहरुले रोग फैलिएपछि शिक्षण संस्था बन्द समेत गर्न थालेका छन् । रासस





