चितवनः भरतपुर स्थिति वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त भएपछि आर्थिक अधिकार अध्यक्षलाई दिईएको छ । कार्यकारी निर्देशकको अभावमा आर्थिक क्रियाकलाप ठप्प भएपछि अध्यक्ष डा.विजयराज न्यौपानेलाई अधिकार दिईएको हो ।
अस्पताल सञ्चालक समितिको बैठकले कार्यकारी निर्देशक चयन नहुञ्जेलसम्मका लागि आर्थिक अधिकार अध्यक्ष डा.न्यौपानेलाई दिएको हो । अध्यक्ष डा.न्यौपानेका अनुसार कार्यकारी निर्देशक नियुक्ति नहुन्जेलसम्मका लागि कर्मचारी, चिकित्सकको तलब लगायतका भुक्तानी दिनका लागि आर्थिक अधिकार अध्यक्षलाई दिने निर्णय भएको छ । अध्यक्ष डा.न्यौपानेले भन्नुभयो “अल्पकालिन रुपमा दैनिक आर्थिक क्रियाकलाप सञ्चालन गर्न र कर्मचारीलाई तलब खुवाउन बैठकले मलाई आर्थिक अधिकार दिएको छ ।”
समितिमा कार्यकारी निर्देशक सिफारिस समिति गठनका विषयमा छलफल गरेपनि टुंगो लाग्न सकेको छैन । सिफारिस समितिमा कोको रहने भन्ने विषयमा नै कुरा नमिलेपछि बैठकले यस विषयमा ठोस निर्णय गर्न नसकेको हो ।
सञ्चालक समितिले सिफारिस समिति बनाएर सोही समितिले कार्यकारीको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ । सिफारिस समितिले सिफारिस गरेका नाम मध्येबाट कुनै एक जना व्यक्तिलाई उपयुक्तताको आधारमा कार्यकारी निर्देशकको पदमा नियुक्त गर्ने ऐनमा व्यवस्था छ ।
सिफारिस समितिमा सञ्चालक समितिले तोकेको समितिको सदस्य संयोजक रहने व्यवस्था छ । मनोनित चिकित्सक सदस्य मध्येबाट एक जना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट समितिमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सदस्य रहने छ ।
अस्पतालको कार्यकारी निर्देशकका लागि प्रतिस्पर्धामा अस्पतालमा कार्यरत डा शिवजी पौडेल, डा बिजय आचार्य र डा. कृष्णसागर शर्मा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !