चितवनः भरतपुर अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमबाट गत एक वर्षमा रु ५२ करोड ५० लाख ७२ हजार आम्दानी गरेको छ । यस अबधिमा सेवा ग्राहीले २ लाख ६ हजार ८८५ पटक सेवा लिएका थिए ।
अस्पतालले बिमा कार्यक्रमबाट गत आर्थिक वर्षमा रु ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको भए पनि सो भन्दा रु १२ करोड रकम वढि भूक्तानी भएको हो । भरतपुर अस्पतालको स्वास्थ्य बिमा कार्यक्रमका सम्पर्क व्यक्ति लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षको अझै रु १० करोड दावि गरेर पठाईएको रकम आउन बाँकी छ । अघिल्लो आर्थिक वर्षमा अस्पतालले बिमा कार्यक्रम मार्फत रु ३० करोड ७९ लाख भूक्तानी पाएको थियो ।
अस्पतालको तथ्याङ्क अनुसार ८ हजार ३९६ पटक अन्य स्वास्थ्य संस्थाबाट रेफर भएर आएका बिरामीले सेवा लिएका छन् । यस्तै स्वास्थ्य बिमा मार्फत अस्पतालमा भर्ना भएर उपचार सेवा लिने बिरामी ८ हजार रहेका छन् । राज्यको सामाजीक सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य विमा जति प्रत्यक्ष राहत दिने महत्वपूर्ण कार्यक्रम अन्य नदेखिएको पौडेलले बताउनुभयो ।
अस्पतालमा आउने बिरामी मध्ये ७१ प्रतिशत बिरामी स्वास्थ्य बिमाबाट सेवा लिने गरेका छन् । २९ प्रतिशतले मात्रै शःशुल्क सेवा लिने गरेको उहाँले बताउनुभयो । बि. सं. २०७४ साल भदौ १ गते देखि अस्पतालमा सुरु गरिएको स्वास्थ्य विमा कार्यक्रममा हाल सम्म ८ लाख पटक सेवा दिईएको छ ।
सेवा ग्राहीको आकांक्षा र सेवा प्रदायकको कार्यक्रम समन्वय नहुनु, औषधिको उपलव्धता र गुणस्तरमा समस्या देखिनु, दावि भूक्तानीमा समस्या देखिनु, सेवा ग्राहीले सेवा लिन आउँदा आफु अपमानित भएको महशुश गर्नु जस्ता कारणले सेवामा अझै चुनौती रहेको उहाँले बताउनुभयो ।
अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्ण प्रसाद पौडेलले संघिय सरकारले दिने वजेट भन्दा बिमा कार्यक्रमबाट प्राप्त दावि भूक्तानी रकम वढि भएको बताउनुभयो । कार्यक्रमलाई अझै सेवाग्राहीको चाहना अनुरुप गर्न नसकीएको भन्दै उहाँले बिरामीहरुका लागि थप संरचना निर्माण गरेर सेवा दिइने बताउनुभयो । यसका लागि आबश्यक जमिन समेत अस्पतालसंग नभएको उहाँको भनाई छ । उहाँले आगामी दिनमा बिमा कार्यक्रमलाई अझै प्रभावकारी वनाएर लैजान अस्पताल लागि पर्ने बताउनुभयो । अस्पतालमा एमआरआई समेत ल्याईदै छ । अत्याधुनिक उपकरणहरु सहित बिशेषज्ञ सेवा दिन सुरु गरिए संगै रेफर भएर अन्यत्र नीजि अस्पताल जानुपर्ने बिरामीको बाध्यता घटेर जाने उहाँको भनाई छ ।
अस्पताल बिकास समितिका अध्यक्ष राजु पौडेलले देशकै अस्पतालहरुमा बिमा कार्यक्रम सबैभन्दा प्रभावकारी भरतपुर अस्पतालमा भएको बताउनुभयो । यस संगै देखिएका समस्याहरुको खोजी गरि निराकरणका लागि पहिलो पटक आजबाट सबै बिभागका कर्मचारी समावेश हुने गरी तीन दिने योजना तर्जुमा गोष्ठि गर्न लागिएको बताउनु भयो । उहाँले भन्नुभयो “अस्पतालका राम्रा पक्षलाई अघि वढाउँदै लैजाने र समस्याहरुको निराकरण गरेर सेवा ग्राहीलाई सेवा दिने काममा हामी जुटेका छौ ।” चितवन सहित छिमेकी जिल्लाहरुबाट समेत बिरामीहरुले स्वास्थ्य बिमामा प्रथम बिन्दु भरतपुर अस्पताललाई वनाउने गरेका छन् ।





